

१६ कार्तिक, सिन्धुपाल्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौं रुपैयाँ हिनामिनाको आशंकामा बाह्रविसे नागरपालिका, नगरकार्यपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिएको छ ।
ठूलो हिनामिना भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार कार्यालयमा छापा मारेको हो । विशेष सूचनाको आधारमा टोलीले नगरपालिकाको कार्यालय पुगेर वित्तीय कागजात तथा रेकर्डहरू नियन्त्रणमा लिएको थियो । अख्तियारमा बाह्रविसे नगरपालिकामा भएका अनियमितता र अपारदर्शी कार्यबारे उजुरी दर्ता भएपछि छापा मारिएको आयोग स्रोतले जनाएको छ । यसअघि नगर प्रमुख बालकृष्ण बस्नेतले भोटेकोशी जलविद्युत् आयोजनाबाट अस्पताल निर्माणका नाममा करिब पाँच करोड रुपैयाँ लिएको आरोप लागेको छ। तर सो रकममध्ये ठूलो हिस्सा हिनामिना गरिएको आशंका गरिएको छ।
छानबिनका क्रममा हालसम्म करिब २० लाख रुपैयाँ बराबरको मात्र लेखापरीक्षण विवरण भेटिएको र बाँकी रकमबारे कुनै स्पष्ट हिसाबकिताब नभेटिएको अख्तियार स्रोतले जनाएको छ। प्राथमिक अनुसन्धानपछि आयोगले थप कागजात अध्ययन र संलग्न व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाउने जनाएको छ। यस बाहेक पनि अख्तियारले नगरका संकास्पद फाइलको गोप्य अनुसन्धान थालेको जनाएको छ ।
स्मरण रहोस्, बाह्रविसे नगरपालिकाका मेयर बस्नेत कांग्रेसबाट निर्वाचित भएका हुन् । उनका दाजु मोहन बस्नेतलाई गत जेठमा टेरामक्स काण्डमा अख्तियारले विशेष अदालतमा उजुरी दिएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।

