

२० कार्तिक, काठमाडौं, नेपालमा सक्रिय ठूला -साना १० वटा कम्युनिस्ट पार्टी तथा घटकहरू एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेका छन्।
कार्तिक १९ गते बुधबार दिउँसो काठमाडौको भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चालगायतका दल तथा समूहहरूबिच एकता भएको हो । एकतापछि नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । चुनावचिन्ह तारा राखिएको छ ।
नवगठित पार्टीको संयोजकमा पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा पूर्वएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। एकता सभालाई नै पार्टीको राष्ट्रिय सम्मेलनका रूपमा घोषणा गर्दै घोषणापत्र र विधान सार्वजनिक गरिएको छ।
सम्मेलनमा नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने र जेनजी पुस्ताका आकांक्षालाई सम्बोधन गर्ने दाबी गरे। पार्टीले २३ बुँदे प्रतिबद्धता जारी गर्दै निम्न बुँदाहरूमा जोड दिएको छ :
संयोजक प्रचण्डले सम्बोधनमा भने, “यो एकता इतिहासमा अविस्मरणीय दिन बनेको छ। १० घटकबीचको एकता पहिलोपटक भएको हो। अब नयाँ शक्ति निर्माण भएको छ, देशका संकट समाधान गर्न सक्छौं।” सहसंयोजक माधवकुमार नेपालले अग्निपरीक्षा सुरु भएको बताउँदै छुटेका वामपन्थी घटकलाई समेट्ने प्रयास जारी राख्ने प्रतिबद्धता जनाए। “नेकपाकालका ९ शीर्ष नेतामध्ये ५ जना यहीं छौं। यो मूल पार्टी हो,” उनले भने। कार्यक्रममा झलनाथ खनाल, देव गुरुङ, वामदेव गौतम, बेदुराम भुसाल, पम्फा भुसाल, महेन्द्र राय यादव, सुवासराज काफ्ले, राजु कार्की, चिरन पुन, कर्णजीत बुढाथोकी, प्रेमबहादुर सिंहलगायतले एकताको औचित्य र भविष्यबारे धारणा राखेका थिए । जेनजी आन्दोलनले पुराना दलप्रति असन्तुष्टि व्यक्त गरिरहेका बेला यो एकता नयाँ कार्यशैली र आचरणसहित जनतामा जाने प्रयासका रूपमा हेरिएको छ।


