न्यौपानेसहित विभिन्न ब्यक्तित्व सम्मानित

प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

२९ कार्तिक, काठमाडौ । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा गठित प्रतिष्ठानले प्राज्ञिक क्षेत्रका चार र साहित्यिक क्षेत्रका एक जनालाई पुरस्कृत गरेको हो । 

पुरस्कृत हुनेमा त्रिवि गणित विभागबाट स्नातकोत्तर तहमा उत्कृष्ट छात्र गङ्गाराम जोशी र छात्रा विद्या पोखरेल छन । दुबैलाई जनही २५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । त्यस्तै, उर्मिलाले अध्ययन गरेको सिन्धुपाल्चोकको बाघ भैरव मावि ठोकर्पाबाठ २०८१ को एसइई परीक्षामा उत्कृष्ट सबिना बुढाथोकी र कालिका आधारभूत विद्यालय उखुबारीबाट २०८१ को परीक्षामा उत्कृष्ट दीपेश विश्वकर्मालाई क्रमश १५ हजार र १० हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।  

त्यसैगरी, उर्मिलाको साहित्यिक व्यक्तित्वको सम्मानमा दिइने साहित्यिक पुरस्कार महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २० हजार नगद र प्रमाणपत्र रहेको छ । सबै पुरस्कार समारोहका प्रमुख अतिथि त्रिवि गणित केन्द्रीय विभागका प्राडा शैलेन्द्रकुमार मिश्र, प्रतिष्ठानका अध्यक्ष प्राडा टङ्कनाथ धमला र सचिव उद्धवप्रसाद प्याकुरेलले प्रदान गरेका थिए ।

साधारण सभामा प्रतिष्ठानका सचिव उद्धवप्रसाद प्याकुरेल र कोषाध्यक्ष नवराज सापकोटाले आआफ्नो प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा प्रमुख अतिथि प्राडा मिश्र, पुरस्कृतमध्येबाट विद्या पोखरेल र चन्द्रप्रसाद न्यौपाने, त्रिवि गणित केन्द्रीय विभागका सहप्राध्यापक तुलसी नेपाल, बाघभैरव माविका शिक्षक छत्रप्रसाद न्यौपाने, नेपाल जर्मन प्राज्ञिक संघका अध्यक्ष बबिता पौडेललगायतले प्राडा उर्मिलाले सानै उमेरमा गरेको उच्च प्राज्ञिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया