

३० कार्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार लिपिङसम्मको सडक स्तरोन्नतिका साथ कालोपत्रे हुने भएको छ । वार्षिक अर्बौं राजस्व सङ्कलन गर्ने यो नाका जाने बाह्रबिसे–लिपिङ सडक खण्डका सुधारका लागि डिभिजन सडक कार्यालय चरिकोटले चालु आर्थिक वर्षमै ठेक्का सम्झौता गर्न लागेको हो ।
डिभिजन सडक कार्यालयले सडक स्तरोन्नतिको लागि ३ अर्ब रुपैयाँ बजेट माग गरेकामा अर्थ मन्त्रालयले २ अर्ब विनियोजन गरेको थियो । तर ठेक्का प्रक्रियामा सहभागी निर्माण व्यवसायीले १ अर्ब ३४ करोड १० लाख ४७ हजार १७७ रुपैयाँमा काम सम्पन्न गर्ने प्रस्ताव पारेपछि सोही लागतमा सम्झौता प्रक्रिया अघि बढाइएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख नारयणदत्त भण्डारीले जानकारी दिए ।
जनप्रतिनिधिको प्राथमिकतामा परेको सडक
सिन्धुपाल्चोक क्षेत्र नं. १ का निर्वतमान सांसद माधव सापकोटाले तातोपानी नाका पुग्ने सडकको स्तरोन्नति आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरे । ‘ऐतिहासिक र राजस्वको प्रमुख स्रोत भएकै कारण यो सडकको दयनीय अवस्था सुधार्न आवश्यक थियो, धेरै प्रयासपछि आज यो काम कार्यान्वयनमा पुगेको छ ।’ सापकोटाले भने। उनका अनुसार बजेट विनियोजनका बेला ‘३ अर्ब’ भन्दै धेरैले व्यङ्ग्य गरे पनि अब सडक निर्माण ठोस रूपमा अघि बढेकाले जनतासँग गरेको पहिलो प्रतिबद्धता पूरा हुने विश्वास दिलाए । ‘तातोपानी नाका बारे धेरै नेताले वर्षौं आश्वासन मात्र दिए, मैले आश्वासन होइन, काम गरेर देखाएँ,’ उनले भने, ‘अब समयमै काम सक्न सबै पक्षले सकारात्मक सहयोग र निरन्तर दबाब दिन आवश्यक छ।’
२८ किलोमिटर सडक- दुई लेनको कालोपत्रे
डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाह्रबिसे–लिपिङ २८ किलोमिटर सडक दुई लेनको कालोपत्रे हुनेछ । उनका अनुसार ठेक्का प्रक्रिया आठ महिना अघि नै सुरु गरिएको भए पनि विभिन्न कारणले ढिलाइ भएको र अहिले सम्झौता अन्तिम चरणमा पुगेको बताए। ‘पहिले नाली त्यसपछि नदीले कटान गरेका स्थानमा प्रोटेक्सन वाल लगायतका संरचना निर्माणको काम हुनेछ,’ डिभिजन सडक कार्यालयका प्रमुख भण्डारीले भने, ‘त्यसपछि दुई लेनको डीबीउम प्रविधिबाट गुणस्तरीय अस्फाल्ट पिच गरिनेछ। ’
भण्डारीका अनुसार डाक्लाङ, घट्टेखोला र कोदारी आसपास पहिरोले क्षतिग्रस्त भएका भागहरूलाई छुट्टै ठेक्कामार्फत निर्माण गरिनेछ। ‘यी ठाउँहरू जोखिमपूर्ण भएकाले स्थायी समाधानका लागि छुट्टै विस्तृत योजना आवश्यक भएकाले प्राविधिक मार्फत अध्ययन भइरहेको छ,अध्ययन पूरा गरेर केही समयभित्रै निर्माण प्रक्रिया आगाडि बढाउँछौ ।’ उनले भने । ठेक्का सम्झौतासँगै निर्माण कम्पनीले दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ। सडक कालोपत्रे भएपछि तातोपानी नाका हुँदै हुने व्यापारिक गतिविधि सहज हुने, ढुवानी खर्च घट्ने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपालप्रेसबाट

