

४ मंसिर , चौतारा– पार्टी एकतापछि कम्युनिस्ट बाहुल्य जिल्लाका रूपमा चिनिएको सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कार्यालयमा ‘नेपाली कम्युनिष्ट पार्टी’को नयाँ बोर्ड राखिएको छ।
बुधबार चौतारास्थित सहिद स्मृति भवनमा रहेको साविक नेकपा (माओवादी केन्द्र) को जिल्ला कार्यालयमा आयोजित भव्य समारोहमा पार्टीको नयाँ नामको बोर्ड अनावरण गर्दै नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला कार्यालय सञ्चालनको शुभारम्भ गरिएको हो। जिल्ला कार्यालय सञ्चालन तथा शुभारम्भ कार्यक्रममा सिन्धुपाल्चोकका तत्कालीन माओवादी नेताहरू कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’, केशव नेपाल, माधव सापकोटा ‘सुवोध’, युवराज दुलाल ‘सरद’, सरल सहयात्री, चन्द्रबहादुर थापा, अमृता नेपाललगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो। यसैगरी एकीकरणमा समाहित अर्को दल तत्कालीन नेकपा (एकीकृत समाजवादी) का भगवती नेपाल, सोम सापकोटालगायतका नेता–कार्यकर्ताहरूको पनि सहभागिता थियो।

यसअघि फरक–फरक कार्यालय र नामबाट सञ्चालित हुँदै आएका नेकपा (एमाले) बाहेकका कम्युनिस्ट घटकहरू अब सिन्धुपाल्चोकमा सहिद स्मृति भवनमा रहेको एकै कार्यालयबाट सञ्चालित हुने भएका छन्। नयाँ बोर्ड अनावरण तथा कार्यालय शुभारम्भ कार्यक्रममा सहभागी नेताहरूले एकीकृत पार्टीको भावनाअनुरूप जिल्लामा एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जुटफुट र संघर्षको लामो इतिहासबाट गुज्रिए पनि अब एक भएर नयाँ सन्देश दिने उनीहरूको भनाइ थियो। जनतासम्म पुगेर एकताको सन्देश दिने र जनपक्षीय काम गर्ने अठोट उपस्थित नेताहरूले व्यक्त गरेका थिए। निर्वाचन आयोगमा बुझाइएको नयाँ पार्टीको केन्द्रीय समितिको सूचिमा जिल्लाबाट अग्निप्रसाद सापकोटा र भगवती नेपालको मात्रै नाम समावेश छ । जेनजी आन्दोलन पछि युवा नेतृत्वको बहस भएपनि सो पार्टीले युवा नचिनको भन्दै आलोचना समेत सुरु भइसकेको छ ।
गत कार्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चालगायतका दल तथा समूहहरूबीच एकता भएको थियो। एकतापछि नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको हो। सो पार्टीको चुनाव चिन्ह तारा कायम गरिएको छ। नवगठित पार्टीको संयोजकमा पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा पूर्वएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन्। सो पार्टीमा भीम रावललगायत पनि समाहित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले २०८२ कार्तिक २८ गते दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि प्रदेश र जिल्ला कार्यालयहरूमा नयाँ नामसहितको बोर्ड तथा ब्यानर राख्न थालिएको पार्टीले जनाएको छ।


