

१३ मङ्सिर सिन्धुपाल्चोक । पशुपालन र दुग्ध उत्पादनमा अग्रणी मानिने चौतारा साँगाचोकगढी नगरपालिकाले पशु चिकित्सा सेवामा ठूलो फड्को मारेको छ । यसअघि ‘पशु लिफ्टिङ मेसिन’ जस्तो आधुनिक उपकरण प्रयोग गरेर ठूला जनावरको उपचारलाई सहज बनाएको नगरपालिकाले यसपटक किसानको गोठमै पुगेर बिरामी भैँसीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
नगरको वडा नम्बर ४ कुविण्डेका किसान केशव सापकोटाको घरमा पालिएको भैंसी तीन हप्तादेखि घाँसपानी नखाने, पेट अस्वाभाविक रूपले फुलेको, उठ्न नसक्ने र नउघ्राएको अवस्थामा पुगेको थियो । दिनको छ लिटर दुध दिने भैंसी बिरामी परेपछि किसान सापकोटाले पहिले चौतारा र जलविरेका पशु कार्यालयमा पुगेर औषधि उपचार गराए पनि सुधार नदेखेपछि नगरका पशु प्राविधिक रविन्द्र सापकोटासँग सल्लाह लिएका थिए ।
नगरको पशु सेवा शाखामा कार्यरत रही हाल अध्ययन विदामा बसेर पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चितवन पोलिटेक्निकलमा भेटेरिनरी डाक्टर (पशु चिकित्सा) को अध्ययन गरिरहेका रविन्द्रले किसानको आग्रह र आफ्नो दायित्वबोध गर्दै विदा लिएर उपचारमा आएको सुनाए । आफ्नै आफ्नै गाउँका किसानलाइ परेकाे आपत टार्न आएका उनले भैँसीमा देखिएको लक्षणपछि “अखाध्य वस्तु निलेको” आशंका गरेर शल्यक्रिया गर्न सुझाएका थिए । किसानले अनुमति दिएपछि शुक्रबार बिहानै नगरपालिकाको प्राविधिक टोली गोठमै पुगेको थियो । शल्यक्रिया गरी भैँसीको पेटबाट नाइलनको डोरी र त्यसमा बेरिएको विद्युतीय तारसमेत निकालिएको छ । सबै प्रोटोकल पूरा गर्दै पेनकिलर, एन्टिबायोटिक, सलाइन पानी र आवश्यक औषधि दिई शल्यक्रिया गरिएको सापकोटाले बताए । पेटमा पाइप लगाएर लादी पनि निकालिएको थियो ।
“शल्यक्रिया सफल भयो । अहिले भैँसी ७५ प्रतिशतभन्दा बढी निको भएको छ । आफैं उठ्न थालेको छ, उघ्राउन पनि थालेको छ । पानी नखाएका कारण अलिक डिहाइड्रेटेड छ, तर अब बाँच्छ,” उनले भने । यसअघि स्लटर हाउसलाई दिने सुझाव आएको भैँसी अब भने बाच्ने आशा पलाएको किसान केशव सापकोटाले सुनाए । प्राविधिक रविन्द्रले शुक्रबार साँझ शल्यक्रियाको तस्बिर र भिडियो आफ्नो फेसबुकमा पोस्ट गरेपछि यो खबर सार्वजनिक भएको हो । उनले लेखेका छन्, “चौतारा साँगाचोकगढी नगरपालिका–४ मा हामी प्राविधिक टिमको सक्रियतामा सफल शल्यक्रिया सम्पन्न भयो । सम्भवतः यो सिन्धुपाल्चोक जिल्लामै गोठमै गरिएको पहिलो ठूलो शल्यक्रिया हो ।”
नगरपालिकाले पशु बिमा कार्यक्रम र अनुदानमा भैँसी वितरण गर्दै आएकाले किसानहरू उपचारमा सचेत बन्दै गएको पशु सेवा शाखाले जनाएको छ । कुविण्डे दुग्ध उत्पादनमा जिल्लाकै चर्चित वडा हो । यो सफलताले स्थानीय तहको पशु स्वास्थ्य सेवामा नयाँ उचाइ प्राप्त भएको पशुपालक किसानहरूले बताएका छन् ।

