मानिस, झुट र विश्वास

तामाङ समुदायबाट आएको सफल प्राविधिक व्यक्ति देशको सर्वोच्च कार्यकारी पदमा पुगेको देख्ने धेरैको मन छ। तर त्यो सपना सफेद झुटको जगमा होइन, सत्य र विश्वासको बलियो आधारमा पूरा हुनुपर्छ।

हरेक मानिस स्वभावैले झुट बोल्छ, कम वा धेरै भन्ने मात्र हो। यो कुरा मानव स्वभावको सत्य हो। महाभारतको प्रसिद्ध प्रसंगमा गुरु द्रोणाचार्यले युधिष्ठिरमाथि अटल विश्वास राख्थे । किनभने उनी ‘सत्यवादी धर्मराज’ थिए, उनले जीवनमा कहिल्यै झुट बोलेनन् भन्ने मान्यता थियो। तर पाण्डवहरूले त्यही विश्वासको फाइदा उठाउँदै युधिष्ठिरको मुखबाट द्विअर्थी वाक्य ‘अश्वत्थामा हतो हतः नरो वा कुञ्जरो वा’ बोलाएर द्रोणाचार्यलाई मार्ने षड्यन्त्र गरे। यो घटना आज पनि ‘सफेद झुट’ वा ‘आवश्यक झुट’ को सबैभन्दा ठूलो उदाहरणका रूपमा चर्चा हुने गर्दछ ।

मानवशास्त्रीहरूका अनुसार झुट बोल्नु मानिसको जैविक तथा सामाजिक विकासको अङ्ग हो। झुट बोल्नु मानिसको स्वाभाविक र विकासात्मक विशेषता पनि हो। हजारौँ वर्षदेखि झुट मानव समाजलाई टिकाउन, सम्बन्ध बचाउन र खतरा टार्न प्रयोग हुँदै आएको छ। डेभिड लिभिङस्टन स्मिथले झुटलाई मानवको ‘प्राकृतिक हतियार’ भनेका छन्। युद्ध, शिकार र प्रजननमा झुटले बाँच्ने सम्भावना बढाउँछ। हाम्रो मस्तिष्कमा झुट पत्ता लगाउने (deception detection) र झुट बनाउने (deception production) दुवै क्षेत्र एकैसाथ विकसित भएका छन् (Why We Lie, २००४)। तर रोचक कुरा के छ भने हरेक मानिस आफूले झुट बोले पनि आफूले विश्वास गरेको व्यक्तिले झुट नबोलिदिए हुन्थ्यो भन्ने चाहन्छ।

नेपालमा त यो कुरा झन् अधिक देखिन्छ। यहाँका नेताहरू झुट बोल्नमा माहिर छन् भन्ने आम भाष्य छ। त्यसैले हरेक नयाँ अनुहार वा वैकल्पिक शक्तिको उदय हुँदा जनताले कम्तीमा ‘यो त झुटो बोल्दैन’ भन्ने आशा राख्छन्। यही आशा कुलमान घिसिङप्रति पनि थियो। लोडसेडिङ अन्त्य गरेर उनी नायक बने। विशेषगरी पूर्वमाओवादी कार्यकर्ताहरूले उनलाई सद्भाव र सम्मानका साथ हेर्थे। पार्टीमा नरहे पनि विगतका कतिपय कुरामा मौन बस्लान् वा सत्य स्वीकार गर्लान् भन्ने अपेक्षा थियो। धेरैले त कुलमानले पार्टी खोलेमा साथ दिने सोचसमेत बनाएका थिए।

तर उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा कुलमानले दुई वटा स्पष्ट झुट बोले। पहिलो ‘म त शुभकामना दिन मात्र आएको हुँ,’ भनेर आफ्नो संलग्नता लुकाउने प्रयास गरे। दोस्रो सबैभन्दा ठूलो झट्का तब लाग्यो जब उनले ‘मलाई त जनताले नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिएका हुन्’ भने । दोस्रो भनाइ सफेद झुट थियो। कुलमानलाई तत्कालीन माओवादी नेतृत्वको सरकारले नै नियुक्त गरेको सर्वविदित छ। यो उनैले सार्वजनिक रुपमा भनेका पनि छन् । त्यो यथार्थ लुकाएर वा उल्टो दाबी गरेर उनले आफ्नै समर्थकहरूको मन भत्काए। त्यो क्षण धेरै पूर्वमाओवादी र निष्पक्ष समर्थकहरूको मनमा कुलमानप्रतिको विश्वास एकैछिनमा सोत्तर पारिदियो, रसातलमा झारिदियो।

झुट बोलिने समाजमा कुलमानले झुट बोल्नु हुँदैन भन्ने होइन। राजनीतिमा कहिलेकाहीँ ‘रणनीतिक झुट’ आवश्यक मानिएका पनि छन्। तर कुलमानजस्तो व्यक्ति जसको पूँजी नै जनताको विश्वास हो, उनले सफेद झुट बोल्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो। रवि लामिछानेले भदौ २४ गते नख्खु जेलबाट छुट्दाको प्रक्रियाबारे बोलेको झुटले उनलाई कति महँगो पर्यो, त्यो सबैले देखेकै छौं। हामी आफैंले झुट बोल्दा ‘मलाई त थाहा छ, मैले किन बोलें’ भनेर जस्टिफाई गर्छौं, तर विश्वास गरेको व्यक्तिले झुट बोल्यो भने ‘समूहको विश्वास प्रणाली’ नै भत्किन्छ। त्यसैले कुलमान वा रविले झुट बोल्दा यति ठूलो धक्का लाग्नु स्वाभाविक छ।  तिनलाई समाजको एउटा तप्काले ‘आफ्नो समूहको नायक’ बनाएका थिए।

सयौँ वर्षदेखि राज्यबाट पछाडि पारिएको तामाङ समुदायबाट आएको सफल प्राविधिक व्यक्ति देशको सर्वोच्च कार्यकारी पदमा पुगेको देख्ने धेरैको मन छ। तर त्यो सपना सफेद झुटको जगमा होइन, सत्य र विश्वासको बलियो आधारमा पूरा हुनुपर्छ। विश्वास एकपटक टुटेपछि जोड्न गाह्रो हुन्छ, कुलमान सर!

प्रतिक्रिया