

२१ मंसिर काठमाडौ । श्रीलंकाको कोलम्बोमा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा रजत पदक जितेका सिन्धुपाल्चोक बाह्रबिसेका युवा अंकित योञ्जन र उनकी आमा तथा सहभागी खेलाडी झरना योञ्जनलाई स्थानीय धार्पा युवा क्लबले नगद सहित सम्मान गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।
मंसिर ११ देखि १४ गतेसम्म श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको उक्त प्रतियोगितामा १४-१८ वर्ष उमेर समूह अन्तर्गत ६९ केजी तौलमा अंकितले रजत पदक हासिल गरेका थिए भने उनकी आमा झरनाले पनि सहभागिता जनाएकी थिइन्। अन्तर्राष्ट्रिय मञ्चमा आमा छोरा दुवैले नेपालको प्रतिनिधित्व गरेकोमा गर्व व्यक्त गर्दै क्लबले यो सम्मान गरेको बागमती प्रदेश फुटबल संघका सदस्य कपिल पाख्रिनले जानकारी दिए। ‘जब जोशले नेतृत्व गर्छ, तब शक्तिको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सम्पन्न समारोहमा स्थानीय प्रतिनिधि, खेलकर्मी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू उपस्थित थिए। वक्ताहरूले अंकित र झरनाको मेहनत, साहस र समर्पणले धार्पा क्षेत्र र सम्पूर्ण नेपालको अन्तर्राष्ट्रिय पहिचान उच्च बनाएकोमा प्रशंसा गरे।रजत पदक विजेता अंकितले आफ्नो सफलता राष्ट्र र समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा थप राम्रो प्रदर्शन गर्ने बताए। उनकी आमा झरनाले खेल क्षेत्रमा महिला सहभागिता बढाउन सक्रिय रहने र यसले अन्य महिलालाई प्रेरणा दिएकोमा खुसी व्यक्त गरिन्।
कार्यक्रममा धार्पा युवा क्लबले अंकित योञ्जनलाई नगद रु. ६०,००० र सम्मानपत्र प्रदान गर्यो। समारोहमा बागमती प्रदेश फुटबल संघका सदस्य कपिल पाख्रिन, जिल्ला फुटबल संघका उपाध्यक्ष गणेश लामालगायत क्लबका पदाधिकारी एवं स्थानीय समुदायको सहभागिता रहेको थियो। श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा २८ खेलाडी रहेको ३४ सदस्यीय नेपाली टोलीले सहभागिता जनाएको थियो भने नेपालले यस प्रतियोगिताबाट कुल ४१ पदक (२६ स्वर्ण, १० रजत र ५ कांस्य) हात पारेको छ।

