

२४ मंसिर, काठमाडौं । देशभरका नागरिक संघ संस्था, संजाल तथा मानव अधिकार अभियन्ताहरूको तर्फबाट तयार गरिएको औपचारिक ध्यानाकर्षण चिट्ठी गैरसरकारी संस्था महासङ्घमार्फत आज प्रधानमन्त्री सुशिला कार्कीलाई हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले चिट्ठी सार्वजनिक रूपमा वाचन गरी प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा बुझाएको महासङ्घले जनाएको छ। चिट्ठी वाचन तथा हस्तान्तरणका क्रममा मन्त्रीहरु, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पदाधिकारी, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, कूटनीतिक तथा सुरक्षा निकायका प्रतिनिधि तथा मिडिया क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत समेत पठाइएको चिट्ठीमा भाद्र २३ र २४ मा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। चिट्ठीमा जेनजी युवाआन्दोलनपछि देशमा लोकतन्त्र, संविधान र शासन व्यवस्थामा देखिएका चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकारको भूमिकाप्रति ध्यानाकर्षण गराइएको छ। साथै, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको संरक्षण, सुशासन, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।
नागरिक समाजले सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य अभावमा समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको योगदानलाई कमजोर पार्ने गतिविधिप्रति आपत्ति व्यक्त गरेको छ। चिट्ठीमा नागरिक संघ संस्थाको अवमूल्यन गर्ने प्रवृत्ति, अभियन्तालाई आपराधिकरण गर्न खोज्ने प्रयास तथा नागरिक समाजलाई निरुत्साहित गर्ने क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरिएको छ। संघसंस्थाले भयरहित वातावरणमा कार्य गर्न सक्ने विश्वासिलो कानुनी तथा संस्थागत संरचना निर्माणमा सरकार सक्रिय हुनुपर्ने आवश्यकतासमेत उल्लेख गरिएको छ।

