एमालेमा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित, पदाधिकारी र केन्सद्रीय कमिटिमा पनि ओलिकै एकछत्र

नेकपा (एमाले)को काठमाडौंमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्।

४ पुस , काठमाडौं। नेकपा (एमाले)को काठमाडौंमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन्।

निर्वाचित भएलगत्तै सपथ ग्रहण समारोहमा ओलीले वर्तमान अन्तरिम सरकारको कडा आलोचना गर्दै देशव्यापी आन्दोलन र सरकार ढाल्ने अभिव्यक्ति दिएका छन्। उनले सरकारले आफूमाथि राजनीतिक प्रतिशोध लिइरहेको आरोप लगाउँदै पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन आह्वान गरे यसलाई कतिपयले आक्रोशपूर्ण चेतावनीका रूपमा व्याख्या गरेका छन्।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन (सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवा नेतृत्वको प्रदर्शन) का क्रममा हिंसात्मक घटना भएपछि ओली नेतृत्वको सरकारले दमन गरेको थियो । आन्दोलन उत्कर्षमा पुग्दा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भीड प्रवेश गरेपछि ओली पदबाट राजिनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएका थिए । चुनावी अन्तरिम सरकारले आन्दोलन दमनबारे छानबिन गरिरहेको र ओलीलाई बयानका लागि बोलाउन सक्ने चर्चा छ।

महाधिवेशनमा जेनजी आन्दोलनका मुद्दाहरूलाई पूर्ण रूपमा सम्बोधन नगरेको भन्दै आलोचना भएको छ। ओलीले सर्वसम्मत नेतृत्वको प्रयास गरे पनि ईश्वर पोखरेल समूहले पूर्ण प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो। तर पदाधिकारी र केन्द्रीय कमिटीमा ओली पक्षको स्पष्ट वर्चस्व कायम भएको छ। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका निर्वाचित भएका छन् । पोखरेल प्यानलबाट गोकर्ण विष्ट र योगेश भट्टराई मात्र विजयी भए। केन्द्रीय कमिटीमा पनि ओली पक्षको करिब ७५ प्रतिशत बहुमत छ।

निर्वाचित प्रमुख पदाधिकारीहरू र मत परिणाम (कुल मतदाता करिब २२६३)

प्रतिक्रिया