कुनै तर्क र बहानामा निर्वाचनको मिति नसारियोस: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिएको छ।

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिएको छ। आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित बागमती प्रदेशस्तरीय एकता सन्देश सभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो चेतावनी दिएका हुन्।

प्रचण्डले सभामा भने, “सरकारलाई भन्न चाहन्छु तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला।” उनले चुनाव सारिए देश दुर्घटनामा पर्ने बताए। निर्वाचन सार्ने हल्ला चलेको भन्दै त्यो आफ्नो पार्टीलाई मान्य नहुने उनको भनाइ थियो। “निर्वाचन सारियो भने नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्लाबाट विद्रोह गर्छ, हामी चुप बस्दैनौं, यसलाई धम्की नठानियोस्,” उनले भने।

देशको स्थायित्वका लागि फागुन २१ मै निष्पक्ष निर्वाचनको विकल्प नभएको उनको भनाइ छ। सभामा माधवकुमार नेपाललगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। यसअघि उपत्यकाबाहिर एकताको सन्देश दिन सभा गरेको नेकपाले आज संघीय राजधानी काठमाडौंमा कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा सभा आयोजना गरेको हो।

प्रतिक्रिया