

२३ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार प्रेम सापकोटा ‘राजेन्द्र’ ले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले बागमती प्रदेश, हेटौंडा, मकवानपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
आज बिहान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सापकोटालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका थिए। टिकट प्राप्त गरेलगत्तै उनी हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उमेदवारी दर्ता कार्यक्रममा प्रतिनिधि सभा सदस्यका लागि सिन्धुपाल्चोक १ बाट एकल सिफारिस भएका नेकपा नेता एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधलगायत नेता कार्यकता हेटौंडा पुगेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिण्डेका पुराना माओवादी नेता सापकोटालाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको हो। जनयुद्धकालमा भूमिगत रहँदै सैन्य तथा राजनीतिक दुवै फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न मोर्चा तथा पार्टी केन्द्रमा सक्रिय रहँदै आएका छन्।
सिन्धुपाल्चोकबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने उनी एक मात्र उम्मेदवार हुन्। सादगी जीवनशैली र जनपक्षीय राजनीतिका लागि परिचित सापकोटाको उम्मेदवारी आज बिहान औपचारिक रूपमा टुंगो लागेको थियो।

