

२८ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। सो सूचीमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश भएको छ।
जनयुद्धकालदेखि नै पार्टीमा पंक्तिबद्ध रहेका उनी संघर्षशील जीवन बिताउनुभएका नेतामा पर्दछन् । तामाङले जेल–नेल तथा विभिन्न प्रकारका यातनासमेत भोगेका छन् । उनी निरन्तर भुइँमान्छे, श्रमिक मजदुर वर्ग, पार्टी नीति तथा वर्गीय पक्षधरताका पक्षमा योगदान पुर्याउँदै आएका सादगी नेता हुन् । लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक आन्दोलनमा सक्रिय उनको भूमिकालाई पार्टी नेतृत्वले उच्च मूल्याङ्कन गर्दै समानुपातिक तर्फको उम्मेदवारका रूपमा अघि सारेको प्रत्यक्ष तर्फ एकल सिफासि भएका उमेदवार एवं पूर्व सांसद माधव सापकोटा सुबोधले जानकारी दिएका छन् । सूचिलाई अन्तिम रुप दिन सिन्धुपाल्चोकका नेताहरु सापकोटाका साथै केशब नेपाल, सरल सहयात्री पौडेल, सिन्धुलीका राजन दाहाललगायतका नेताहरु पार्टी संयोजक प्रचण्ड निवास पुगेका थिए ।
सापकोटाका अनुसार, समावेशी प्रतिनिधित्व, त्याग र संघर्षको सम्मान तथा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले तामाङको नाम समावेश भएको छ । यस निर्णयले सिन्धुपाल्चोकका पार्टी कार्यकर्ता र समर्थकहरूमा उत्साह थपिएको छ।

