८४ वर्षमा बल्ल पाइन लालकुमारी श्रेष्ठले राज्यको पहिचान

लालकुमारी श्रेष्ठले आज पहिलो पटक आफ्नो नाम लेखिएको कागज हातमा समाइन्। त्यो कागज कुनै साधारण कागज नभएर उनी नेपाली भएको पहिचान थियो ।

२९ पुस, चौतारा । लालकुमारी श्रेष्ठले आज पहिलो पटक आफ्नो नाम लेखिएको कागज हातमा समाइन्। त्यो कागज कुनै साधारण कागज नभएर उनी नेपाली भएको पहिचान थियो । त्यो ८४ वर्षसम्म राज्यका आँखामा नदेखिएकी एक वृद्ध महिलाको अस्तित्व प्रमाणित गर्ने नेपाली नागरिकता थियो।

वि.सं. १९९८ साल असोज १६ गते बाह्रबिसे नगरपालिका–४ पलाँतीमा जन्मिएकी लालकुमारीले जीवनमा धेरै कुरा गुमाइन्। छ महिनाकी हुँदा आमाको, १५ महिनाकी हुँदा बाबुको छायाँ छुट्यो। राज्य के हो, अधिकार के हो भन्ने बुझ्ने अवसर नपाउँदै जीवनले उनलाई कठोर बाटोमा धकेल्यो। वि.सं. २०१८ सालमा विवाह भयो। केही समयपछि आशाको उज्यालो देखिएको थियो। तर वि.सं. २०३० सालमा श्रीमानको निधनले फेरि जीवन अँध्यारो बनायो। त्यसपछि लालकुमारीका लागि जीवन भनेको संघर्ष मात्र बन्यो । काठमाडौँलगायत विभिन्न स्थानमा ज्याला मजदुरी, पसिना बगाएर छोरा छोरी हुर्काउने जिम्मेवारी उनकै काँधमा थियो।

उनी कहिल्यै अस्पताल गइनन्। सरकारी कार्यालयको आँगन कहिल्यै टेकिनन्। राज्यका कुनै सुविधा नपाई, आफ्नै देशमा बसेर पनि उनी राज्यका लागि अदृश्य बनिरहिन्। संविधान फेरिए, शासन व्यवस्था बद्लिए, देशमा गणतन्त्र आयो तर लालकुमारीको जीवन उस्तै पहिचान विहिन रह्यो। ८४ वर्षको उमेरमा मात्र उनले नागरिकता भनेको अधिकारको ढोका खोल्ने चाबी रहेछ भन्ने बुझिन्। त्यसपछि २०८२ भदौ ३० गते नागरिकताका लागि निवेदन दिइन्। तर अभिलेखमा नाम नदेखिएपछि उनलाई अदालत जान सुझाव दिइयो। प्रक्रिया जटिल थियो, उमेर ढल्किसकेको थियो तर उनले हार मानिनन्। उनलाई साथ दिनेहरु पनि लागिरहे।

स्थानीय सहजकर्ता, सामाजिक अभियन्ता र कानुन व्यवसायीको निरन्तर प्रयासले अन्ततः आज चौतारास्थित जिल्ला प्रशासन कार्यालयबाट उनले नागरिकता प्राप्त गरिन्। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्दाको क्षण एउटा कागज दिने कार्यक्रम मात्र थिएन बरु त्यो एउटा असहाय जेष्ठ नागरिकलाई राज्यले औपचारिक रूपमा चिनेको दिन थियो। यसका लागि रामकुमार पाठक, गोविन्द पाठक ददिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुलीको पहल, अधिवक्ता सुष्मा गिरीको कानुनी सक्रियता र स्थानीय तहदेखि गृह मन्त्रालयसम्मका अधिकारीहरूको सहयोगले यो सम्भव भयो।

आज पनि लालकुमारी अरूको खेतबारी र घरधन्दाबाटै जीविकोपार्जन गरिरहेकी छिन्। तर फरक यति हो अब उनीसँग आफ्नो नाम, पहिचान र राज्यद्वारा स्वीकारिएको अस्तित्व छ। लालकुमारी श्रेष्ठको कथा एक महिलाको सामान्य कथा होइन, यो त राज्यका अभिलेखमा नअटाएका हजारौँ अदृश्य नागरिकहरूको कथा हो । उनीहरुलाई देख्न अझै संवेदनशील दृष्टि आवश्यक छ।

प्रतिक्रिया