बलेफीको हिउँदे अधिवेशनले घटायो मालपोत कर

सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकाले आम नागरिकबाट व्यापक गुनासो आएको भन्दै भूमिकर घटाउने निर्णय गरेको छ ।

३० पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकाले आम नागरिकबाट व्यापक गुनासो आएको भन्दै
भूमिकर घटाउने निर्णय गरेको छ ।

व्यापक जनगुनासो आएपछि अस्वभाविक ठहरिएको भन्दै गाउँकार्यपालिकाको १८ औं अधिवेशनले भूमि कर (जग्गाको तिरो मालपोत कर) घटाउने निर्णय गरेको पालिका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए । यससँगै बलेफीका किसानले प्रति रोपनी १०० रुपैंया कर तिर्नु पर्ने विगतको अवस्थामा परिवर्तन भएको छ । अब प्रति रोपनी २० रुपैंया मात्रै तिरे पुग्ने छ ।

अध्यक्षका तामाङका अनुसार गाउँसभाको १७औँ अधिवेशनमा प्रस्तुत विनियोजन विधेयक २०८२ माथि उपाध्यक्ष सरु लामाद्वारा पेश भएको पहिलो संशोधन प्रस्ताव माथि ग्रिबिन्द्र कुमार चौलागाईंले पहिलो संशोधन प्रस्ताव पेश गरेका थिए । लेखा समिति संयोजक तेजबहादुर पराजुलीले थप प्रतिवेदन पेश गरेका थिए । कर घटाउनेलगायतका प्रस्तावहरूमा विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको उनले जानकारी दिए । गाउँमै आएको सरकारले किसानसँग धेरै तिरो लिएको गुनासो आएपछि पूर्वमाओवादीबाट निर्वाचित तामाङले कर घटाउने विषय अघि सारेका थिए ।
अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सभा सदस्यहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा नागरिक तहबाट निरन्तर उठ्दै आएको भूमि कर दर अत्यधिक र अव्यवहारिक भएको गुनासोलाई सम्बोधन गर्न सबै सहमत भएका थिए ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले कर प्रणालीलाई न्यायोचित, व्यवहारिक र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा स्थानीय कर संरचनाको समग्र सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताएका छन्। नयाँ संविधान जारी भएपछि दोस्रो पटक निर्वाचित स्थानिय तहको यो कार्यकालमा अझै एउटा बजेट ल्याउन बाँकि छ ।

प्रतिक्रिया