

२ माघ, सिन्धुपाल्चोक । जिल्लामा भलिबल खेलको प्रवर्द्धन र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कुबिण्डेमा ‘प्रथम सरोज स्मृति कप–२०८२ अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता’ को भब्य सुरवात भएको छ।
प्रतियोगिताको बिहिबार कुबिण्डेस्थित सेतिदेवी पञ्चकन्या माध्ममिक विद्यालयको प्राङ्गणमा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरे । कुबिण्डे युवा समूहको आयोजना तथा स्थानीय तह र सरोकारवालाहरूको सहकार्यमा सुरु भएको प्रतियोगिताले जिल्लामा खेलकुदप्रतिको उत्साह थपेको छ । प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकाबीच भएको उद्घाटन खेलमा बलेफी गाउँपालिकाले जित निकाल्यो । त्यसैगरी सुनकोसी गाउँपालिका र जुगल गाउँपालिकाबीचको दोस्रो खेलमा जुगल गाउँपालिका विजयी भयो भने लिसंखु पाखर गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाबीच भएको तेस्रो खेलमा त्रिपुरासुन्दरी गाउँपालिकाले बाजी मार्यो ।
प्रतियोगिताको पहिलो दिन रक्तदान कार्यक्रमका साथै कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने छ। दोस्रो हुने टिमले नगद ७५ हजार, तेस्रो हुने टिमले नगद ५० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ बराबरको बजेट खर्च हुने आयोजकको अनुमान छ।

