

२ माघ, सिन्धुपाल्चोक । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले नेतृत्व हस्तान्तरण र जिम्मेवारी पुस्तान्तरणका लागि नेपाली कम्युनिस्ट पार्टीले युवा उम्मेदवार अघि सारेको बताएका छन् ।
बिहीबारदेखि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ स्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको ‘प्रथम सरोज स्मृति कप २०८२ अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता २०८२’ को उद्घाटन मन्तव्यका क्रममा उनले नेतृत्व हस्तान्तरण र जिम्मेवारी पुस्तान्तरण अपरिहार्य ठानेर पार्टीले जिल्लाबाट दुई युवा नेतालाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा छनोट गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले जिल्लाको क्षेत्र नं. १ बाट माधव सापकोटा सुबोध र क्षेत्र नं. २ बाट युवराज दुलाल सरदलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि बढाइएको स्पष्ट पारे । पार्टीको यो निर्णयले जिल्लाको राजनीति र विकासमा नयाँ अध्याय सुरु हुने उनको विश्वास थियो । खेलकुदले युवामा अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै उनले सिन्धुपाल्चोकलाई खेलकुद र युवा शक्तिमार्फत राष्ट्रकै नमुना जिल्लाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि तथा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा एकल सिफारिस उम्मेदवार माधव सापकोटा सुबोधले युवामा निहित क्षमता उजागर गर्न स्थानीय स्तरमा यस्ता खेलकुद प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याए । खेलले आत्मविश्वास बढाउने र आत्मविश्वासले चुनौती तथा समस्यासँग सामना गर्ने ऊर्जा प्रदान गर्ने उनको भनाइ थियो । उनले आफूलाई पार्टीले प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि उम्मेदवारका रूपमा सिफारिस गरेकोमा धन्यवाद दिँदै सिन्धुवासीको विश्वास र मायाका साथ पुनः संसद् पुग्ने विश्वास व्यक्त गरे । निवर्तमान सांसद सापकोटाले ३३ महिना संसद्मा जनताका आवाज बोलेको स्मरण गर्दै पूर्ण कार्यकाल काम गर्न नपाएकाले जिल्लावासीले फेरि एकपटक मतदान गरी विजयी गराउने विश्वास गरे ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदलाई युवाको ऊर्जा सही दिशामा उपयोग गर्ने सशक्त माध्यमका रूपमा वर्णन गरे । उनले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद विकासलाई प्राथमिकतामा राख्दै यस्ता रचनात्मक तथा सकारात्मक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै ब्लड डोनर्स एसोसिएसन नेपाल, ब्लड डोनेसन सिन्धुपाल्चोकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले स्वेच्छिक रक्तदान गरेका छन् । उद्घाटन समारोहमा राष्ट्रिय हास्य कलाकार सुबोध गौतम तथा लोकप्रिय गायिका गंगा सोनामको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।आयोजकका अनुसार प्रतियोगिता निर्धारित तालिकाअनुसार निरन्तर सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहका टोलीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

