

८ माघ, सिन्धुपाल्चोक । पार्टी चलाउने केही व्यक्तिहरूले जीवनभर बिर्सन नसकिने चोट दिएको भन्दै बाह्रविसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पाले निर्वाचनको मुखैमा नेकपा (एमाले) परित्याग गरेका छन् । पार्टीबाट ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत प्राप्त भएपछि आत्माले त्यहाँ बस्न नस्वीकारेको उनको भनाइ छ ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै बाह्रविसे नगरपालिकाका संस्थापक मेयर शेर्पाले नेकपा (एमाले) परित्यागको घोषणा गरेका हुन् । एमालेसँगको करिब चार दशक लामो राजनीतिक यात्रा टुंग्याउँदै उनले भावुक वक्तव्य सार्वजनिक गरेका छन् । २०५३ सालमा लिएको संगठित सदस्यताको तस्बिर राखेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । गाती–मान्द्राको विकट गाउँमा जन्मिएका शेर्पाले चेतना जागृत भएदेखि नै आफूलाई एमालेकै कार्यकर्ता ठान्दै आएको उल्लेख गरेका छन् । “थाहा पाउँदा म एमाले थिएँ, बाँच्दासम्म पनि एमाले नै रहन्छु होला जस्तो लागेको थियो,” उनले लेखेका छन् । झण्डै ६० वर्षको उमेरसम्म आइपुग्दा जीवनका सबैभन्दा उर्जाशील वर्षहरू पार्टीलाई समर्पण गरेको उनले उल्लेख गरेका छन् ।
उनले २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी भई २०४६ चैत २४ गते पक्राउ परेर २४ घण्टा हिरासतमा बसेको स्मृति अझै ताजा रहेको उल्लेख गर्दै त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै एमालेको राजनीतिक यात्रा सुरु भएको बताए । बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमालेका कार्यकर्ता औँलामा गन्न सकिने अवस्थामा हुँदा पनि पार्टी संगठन विस्तार गर्दै स्थानीय तहको पहिलो निर्वाचन जितेर संस्थापक मेयर बन्न सफल भएको उनको भनाइ छ । उनले बाह्रविसे र भोटेकोशी क्षेत्रलाई एमालेको बलियो आधार बनाउनु व्यक्तिगत उपलब्धि नभई कार्यकर्ता र पार्टीको सामूहिक जित भएको बताए । तर पार्टीभित्रकै केही व्यक्तिहरूले उक्त क्षेत्र बलियो भएको देख्न नसकी दुईवटा कमिटी बनाएर विभाजन गराएको उनले बताए। आफू सधैं कार्यकर्ताको दुःख–सुखमा उभिँदा पनि त्यसको साटो कारबाही भोग्नुपरेको पीडा उनले व्यक्त गरे ।
“म मान्छे हुँ, मसँग पनि कमजोरी छन्,” भन्दै उनले कमजोरीका नाममा आफ्नो योगदान, संघर्ष र क्षमतालाई पूर्ण रूपमा अस्वीकार गर्नु अन्याय भएको बताए । पूर्व मेयरको यस निर्णयले सिन्धुपाल्चोकको चुनावी राजनीतिमा नयाँ समीकरण बन्न सक्ने आंकलन गरिएको छ ।
उनकाे स्टाटस
आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू
तथा नेकपा एमालेका प्रिय कमरेडहरू,
गाती,मान्द्राको एउटा विकट गाउँमा जन्मिँदा म कुनै पार्टीको झण्डा, नारा वा राजनीति बुझ्ने अवस्थामा थिएनँ। तर जब चेतना आउन थाल्यो, जब समाज बुझ्न थालेँ, म आफूलाई नेकपा एमालेकै मान्छे पाएँ। थाहा पाउँदा म एमाले थिएँ, बाँच्दासम्म पनि एमाले नै रहन्छु होला जस्तो लागेको थियो ।
आज उमेर झण्डै ६० को हाराहारीमा पुगेको छ। जीवनका सबैभन्दा उर्जाशील वर्षहरू मैले यस पार्टीलाई दिएँ। मैले पार्टीलाई धेरै दिएँ, पार्टीले पनि मलाई धेरै दियो। यो पार्टीप्रति मेरो मनमा न कुनै गुनासो छ, न आग्रह, न पूर्वाग्रह। तर दुःखको कुरा के हो भने, पार्टी चलाउने केही व्यक्तिहरूले मलाई जीवनभर बिर्सन नसकिने चोट दिएका छन्। उनीहरूले मेरो मनलाई यति गहिरो गरी भत्काए, जसको पीडा शब्दमा बयान गर्न गाह्रो छ।
आज यो क्षणमा म मेरो स्वर्गीय दाइ ङिमपासाङ शेर्पालाई सम्झिरहेको छु। उहाँले मलाई बुबाआमाको माया मात्र होइन, राजनीतिक रूपमा एउटा पहिचान दिनुभयो। आज म जे छु, जहाँ छु, त्यो उहाँकै विश्वास र मार्गदर्शनको देन हो।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा, २०४६ चैत २४ गते प्रहरीबाट पक्राउ परेर २४ घण्टा हिरासतमा बस्नुपरेको दिन आज पनि आँखाअगाडि ताजै छ। त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै मेरो नेकपा एमालेको राजनीतिक यात्रा सुरु भयो। त्यो यात्रा कहिल्यै सजिलो थिएन, तर म कहिल्यै पछि हटिनँ।
बाह्रविसे, भोटेकोशी जस्ता क्षेत्रमा कुनै दिन एमालेका कार्यकर्ता गन्न सकिने अवस्थामा थिए। तर हामीले त्यही ठाउँमा स्थानीय तहको पहिलो निर्वाचन जित्यौं। म संस्थापक मेयर बनेँ र तपाईँहरू सबैको साथ र विश्वासले बाह्रविसेलाई एमालेको गढ बनायौं। त्यो मेरो व्यक्तिगत सफलता होइन, यो पार्टी र कार्यकर्ताको सामूहिक जित थियो।
तर दुःखद सत्य के हो भने, पार्टीभित्रकै केही मान्छेहरूले बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले बलियो भएको देख्न सकेनन्। उनीहरूले हामीलाई कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गर्ने काम गरे। म सधैँ पार्टीका साथीहरूको दुःख–सुखमा उभिएँ, कार्यकर्ताको मनोबल बढाउन अग्रपङ्क्तिमा रहेँ। तर यसको बदलामा मलाई पुरस्कार स्वरूप कारबाही दिइयो।
म मान्छे हुँ, मसँग पनि कमजोरी छन्,तर ती कमजोरीका नाममा मेरो योगदान, मेरो संघर्ष र मेरो क्षमतालाई पूर्ण रूपमा अस्वीकार गर्नु अन्याय हो भन्ने मेरो बुझाइ छ। जब पार्टीले ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत दियो, त्यसपछि यहाँ बसिरहनु मेरो आत्माले स्वीकार गरेन। म मान्छे हुँ कमजोरी हुन सक्छ,तर त्यसको सजाय यति निर्मम हुनु पर्छ र? मेरो योगदान,मेरो क्षमताको कुनै मुल्य छैन भन्ने सन्देशले म भित्र भित्रै तड्पिरहे ।
आत्माले बोलेपछि त्यहीँ टाँसिएर बस्न सकिनँ। त्यसैले आज, नेकपा एमालेले दिएको संगठित सदस्यता नम्बर ५२६३४ यही मितिबाट त्याग गरेको छु। यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ। मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन।
हिजो नेकपा एमालेमा रहँदा यदि मैले जानेर वा नजानेर कसैको मन दुखाएको छु भने, म सबैसँग हृदयदेखि माफी चाहन्छु। हामी फेरि कुनै न कुनै भूमिकामा भेटिनेछौं, मन साटासाट हुने नै छ।
आज कै मिति देखि म नेकपा एमाले पार्टी सहित सगठित सदस्य समेत परित्याग गर्देछु,पार्टी परित्याग गरे पनि मेरो जीवनमा बगेको संघर्ष, त्याग र सपनाको इतिहास कसैले मेटाउन सक्दैन।
धन्यवाद।

