बाह्रबिसे एमालेमा अर्को पहिरो, घुम्थाङका निर्वाचित वडाध्यक्ष शेर्पाद्वारा पार्टि परित्याग

नेकपा एमाले सिन्धुपाल्चोकमा आन्तरिक विवाद चुलिँदै जाँदा बाह्रबिसे नगरपालिकामा फेरि अर्को राजनीतिक पहिरो गएको छ।

१२ माघ, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकमा आन्तरिक विवाद चुलिँदै जाँदा बाह्रबिसे नगरपालिकामा फेरि अर्को राजनीतिक पहिरो गएको छ। बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पाले पार्टी परित्याग गरेको एक साता नबित्दै, वडा नं. ७ घुम्थाङका निर्वाचित वडाध्यक्ष निमा शेर्पाले पनि नेकपा एमालेको बाह्रबिसे सचिव पद परित्यागको औपचारिक घोषणा गरेका छन्।

लामो समयदेखि पार्टीभित्र देखिँदै आएको आन्तरिक विवाद, अन्तरसंघर्ष र नेतृत्व तहको असमन्वयका कारण आफूले यस्तो निर्णय लिन बाध्य भएको वडाध्यक्ष शेर्पाले बताएका छन्। उनले फेसबुमा लामो स्टाटस लेख्दै पार्टीको आन्तरिक विवाद समाधानका लागि विभिन्न समय र तहमा समन्वय र सहकार्य गर्दै आएको तर नेतृत्वबाट त्यसप्रति कुनै गम्भीरता नदेखिएको उल्लेख गरेका छन्।

उनका अनुसार बाह्रबिसे नगरकमिटीमा देखिएको गम्भीर विवादका क्रममा जिल्ला इन्चार्ज र जिल्ला कमिटी अध्यक्षले बहुमत सदस्यहरूको राय, सुझाव र सहमति बेवास्ता गर्दै एकल रूपमा नगरकमिटी घोषणा गरेपछि अवस्था झन् जटिल बनेको थियो। त्यसपछि जिल्ला कमिटी बहुमत पक्षले अलग्गै समानान्तर पालिका कमिटी घोषणा गर्दा बाह्रबिसेमा एमालेका दुईवटा नगर कमिटी अस्तित्वमा आएका थिए।

समानान्तर कमिटी गठन भएपछि उनी सर्वसम्मत रूपमा उक्त कमिटीको सचिव पदमा चयन भई सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए। तर आजको मितिसम्म पार्टी नेतृत्वले उक्त विवाद समाधानका लागि कुनै पहल नगरेको, समन्वय र सहकार्यप्रति बेवास्ता गरेको र यसले आफ्नो व्यक्तिगत आचरण तथा राजनीतिक जीवनमा गम्भीर असर पारेको भन्दै उनले सचिव पदको जिम्मेवारी परित्यागको घोषणा गरेका हुन्। एमालेबाट लगातार प्रभावशाली स्थानीय नेताहरू बाहिरिन थालेपछि सिन्धुपाल्चोक, विशेषगरी बाह्रबिसे क्षेत्रमा सो पार्टीको संगठन र आगामी चुनावमा गम्भीर असर पर्ने पक्कापक्की देखिएको छ। एमालेका जिल्ला नेता जेपी सिलवालले पनि केही अघि पार्टि परित्याग गरेका थिए ।

प्रतिक्रिया