निर्वाचन परिचालन सम्मेलनपछि नेकपा सिन्धुपाल्चोक–१ मा उत्साह, ‘कम्फर्ट जोन’ मा रहेको निष्कर्ष

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका सबै पालिकामा प्रारम्भिक निर्वाचन परिचालन सम्मेलन सम्पन्न भएको छ ।

१७ माघ, सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका सबै पालिकामा प्रारम्भिक निर्वाचन परिचालन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनहरूबाट उत्साहित नेताहरू तथा कार्यकर्ताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा कम्फर्ट जोन (सुविधाजनक अवस्था) मा रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।
माघ ११ गते चौतारा साँगाचोकगढी नगरपालिकाबाट सुरु भएको निर्वाचन परिचालन कमिटीको बैठक शृंखला माघ १६ गते भोटेकोशी गाउँपालिकामा पुगेर सम्पन्न भएको हो । तारा चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपाले संगठनात्मक तयारी मजबुत रहेको र जितको अवस्था अनुकूल रहेको आन्तरिक विश्लेषण गरेको छ ।
गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को नामबाट चुनाव लडेर विजयी भएका तथा युवाहरूका ढुकढुकीका नामले परिचित माधव सापकोटा ‘सुबोध’ यसपटक वृहत एकतासहितको नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हबाट उम्मेदवार छन् । पार्टीका आठवटै पालिकामा सम्मेलन सम्पन्न हुँदा उनको पक्षमा कार्यकर्ता उत्साहि देखिएको र पार्टीभित्र एकमत बन्दा माहोल थप बढ्न थालेको निचोड निस्केको हो । ३३ महिना सांसद रहँदा विकास निर्माणको काममा लिएको पहलकदमी कांग्रेस एमालेबाटै मत आकर्षित हुने देखिएको ठहर नेकपाले गरेको छ । उनले संसदमा बनाएको सकारात्मक छविका कारण पनि उनी यस क्षेत्रमा रुचाइएका छन् । सुबोधका लागि वर्तमान अवस्था सहज रहेको नेकपाको निष्कर्ष छ ।
नेकपाले माघ ११ गते चौतारा, १३ गते सुनकोशी, त्रिपुरासुन्दरी र बाह्रबिसे, १४ गते लिसंखु पाखार र जुगल, १५ गते बलेफी तथा १६ गते भोटेकोशीमा सम्मेलन सम्पन्न गरी आन्तरिक विश्लेषणमा फेरि अर्को जित निश्चित भएको ठहर गरेको छ । यसअघि गोलाकारभित्रको हँसिया हतौडा चिन्ह लिएर चुनाव लडेको यो पार्टीको यसपटकको चुनाव चिन्ह पाँच कुने तारा हो । माधव सापकोटा सुबोधलाई जिताउन मतदाताले अब तारा चिन्हमा मतदान गर्नुपर्नेछ ।
नेकपाले क्षेत्र नं. १ अन्तर्गतका सबै पालिकामा निर्वाचन परिचालन कमिटीको नेतृत्वसमेत बाँडफाँड गरेको छ । जसअनुसार भोटेकोशी गाउँपालिकाको संयोजकमा राजकुमार पौडेल, बाह्रबिसे नगरपालिकामा भीमप्रसाद पराजुली, त्रिपुरासुन्दरी गाउँपालिकामा अनन्तप्रकाश श्रेष्ठ र लिसंखु पाखार गाउँपालिकामा पूर्ण बहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, सुनकोशी गाउँपालिकाको संयोजकमा अमर तामाङ, बलेफी गाउँपालिकाको लेखबहादुर सुवेदी, जुगल गाउँपालिकाको जङ्ग तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० को नेतृत्व विष्णु तामाङले गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
सिन्धुपाल्चोक–१ अन्तर्गत त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखार, बाह्रबिसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० पर्छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ७२ मतदान केन्द्र छन् ।

प्रतिक्रिया