को हुन सिन्धुपाल्चोक -१ का नेकपा उमेदवार माधव सापकोटा ‘सुबोध’

संसदमा सबैभन्दा सक्रिय र उदाहरणीय युवा सांसदहरूमध्ये एक माधव सापकोटाले आत्मविश्वासी, अध्ययनशील र स्पष्ट वक्ता सांसदको छवि निर्माण गरे ।

संघीय संसद्, प्रतिनिधि सभामा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रत्यक्षतर्फका उम्मेदवार माधव सापकोटा (सुबोध) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सांसद तथा लोकप्रिय युवा नेता हुन्।

उनको जन्म जनयुद्धको प्रमुख उद्गमस्थल सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविन्डेमा वि.सं. २०३७ चैत २० गते पिता हरिप्रसाद सापकोटा र माता खिलमाया सापकोटाको माइलो सन्तानका रूपमा भएको हो। सापकोटाले सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविन्डे र जुगल बोर्डिङ स्कूल चौताराबाट विद्यालय शिक्षा पूरा गरे। वि.सं. २०५२ माघ २० गते अर्धभूमिगत माओवादी नेतालाई पक्राउ गर्न आएका प्रहरीलाई स्थानीयले लखेट्दा एक प्रहरीको मृत्यु भएपछि कुविन्डेका हरेक घरमा प्रहरीको खानतलासी, धरपकड र चरम यातना सुरु भयो। सिङ्गो गाउँ आतङ्कित भयो र राज्य आतङ्क वरपरका क्षेत्रमा फैलियो। वि.सं. २०५२ फागुनमा जनयुद्ध सुरु भएपछि देशव्यापी रापताप बढ्यो। नेता अग्निप्रसाद सापकोटालगायत सयौँ कार्यकर्ता भूमिगत भए। कुविन्डेका युवा विद्यार्थीहरूका लागि विद्यालय जानु चुनौतीपूर्ण बन्यो।

त्यही रापतापकाबिच १३ वर्षकै उमेरमा वि.सं. २०५१ मा अखिल (क्रान्तिकारी) बाल इकाईमा संगठित भएका माधव सापकोटा २०५३ मा विद्यालय इकाई अध्यक्ष, २०५४ मा क्षेत्रीय सदस्य, २०५५ मा जिल्ला सदस्य, २०५६ मा जिल्ला उपाध्यक्ष र पछि जिल्ला अध्यक्ष बने। वि.सं. २०५४ असोजमा पार्टी सदस्यता प्राप्त गरेपछि उनी २०५६ माघदेखि पूर्ण भूमिगत भए। जनमुक्ति सेनामा स्क्वार्ड कमान्डरदेखि १४ औँ बटालियन कमिसारसम्मको जिम्मेवारी सम्हाले। वि.सं. २०६३ वैशाख १० गते चौतारा आक्रमणका कमान्डर रहँदा गोली लागेर गम्भीर घाइते भए। अहिले पनि उनको शरिरमा गोलिका छर्रा छन् । उनी जिल्ला सेक्रेटरी, क्षेत्रीय इञ्चार्ज हुँदै वि.सं.२०७१ मा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष, २०७३ मा केन्द्रीय सदस्य बने। शान्ति प्रक्रियापछि सेना समायोजनमा बसेर अध्ययन जारी राखे। उनले जनयुद्द सुरु भएपछि छुटेको पढाइलाई शान्ति प्रक्रियापछि पूरा गरे । प्लसटु, स्नातकहुँदै र वि.सं. २०८१ मा उनले राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरे। जनयुद्धकालमा देवकुमारी नेपालसँग जनवादी विवाह गरेका उनीहरूका एक छोरा सालीन सापकोटा छन्।

राजनीति र योगदान

विद्यार्थी राजनीतिमा हुँदा खरो र तार्किक नेताका रूपमा परिचित सुबोध केन्द्रीय जिम्मेवारीपछि बौद्धिक, तार्किक, मिलनसार र समन्वयकारी नेताका रूपमा स्थापित छन्। न्यायपूर्ण अडानमा निर्भीक उनी सबै माझ लोकप्रिय छन्। सिन्धुपाल्चोकमा जुरे पहिरो, २०७२ वैशाखको महाभूकम्प, लिदी पहिरो, नागपुजे पहिरो कोभिड–१९ महामारी, २०८१ असोज ११ र १२ गतेको भीषण वर्षा र बाढी पहिरोलगायत विपत्तिमा तत्काल राहत, उद्धार र समन्वयमा सक्रिय रहेका उनी सुखमा भन्दा दुखमा नागरिकका घर दैलोमा पुग्छन् । दुई दशकदेखि जिल्लाका सुख दुःखमा साथ दिँदै आएका सुबोध सहजै उपलब्ध हुने, जनताका कुरा सुन्ने र तत्काल कामका लागि पहल लिएका कारण सबैले रुचाएको युवा नेतृत्वका रूपमा सर्वस्विकार्य छन्।

बंगलादेश, इण्डोनेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, अमेरिका, बेलायत, चीन, भारत लगायत देश भ्रमण गरेका उनी पार्टीको वन, वातावरण तथा जलवायु विभाग प्रमुख छन्। भूकम्पपछि सिन्धुपाल्चोकको पुनर्निर्माणमा संघीय मामला मन्त्रालयमा सल्लाहकार रहँदा महत्त्वपूर्ण योगदान दिए। उनी सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित जुगल हिमालका चुचुराहरुको आरोहण खुलाउने, भुकम्पपछि बन्द अवस्थाको तातोपानी नाका खुलाउने, जुरे पहिरो प्रभावितका नाममा जम्मा भएर वितरण हुन नसकेको रकमको विधिवत वितरणको काम गर्ने प्रमुख पहलकर्ता हुन्। उनिसँग विकास, शुशासन, शिक्षा, रोजगारी, जलवायु परिवर्तनले गरेको असर एवं न्युनिकरण र सामाजको सकारात्मक परिवर्तनका लागि स्पष्ट दृष्टिकोण छ । 

संसदीय भूमिका र छवि

संसदमा सबैभन्दा सक्रिय र उदाहरणीय युवा सांसदहरूमध्ये एक माधव सापकोटाले आत्मविश्वासी, अध्ययनशील र स्पष्ट वक्ता सांसदको छवि निर्माण गरे । बहसका क्रममा विषयलाई ठाउँको ठाउँ समातेर स्पष्ट र तर्कसंगत रूपमा बोल्ने सांसदका रूपमा उनी परिचित छन्। युवा ऊर्जासहित समकालीन राजनीति र सुशासनका मुद्दामा उनको दरिलो पकड थियो । तथ्य, सन्दर्भ र उदाहरणसहित विषय प्रस्तुत गर्ने उनको शैली चोटिलो र प्रभावकारी रहन पुग्यो । प्रधानमन्त्री र मन्त्रीहरू तथा अन्य दलका सांसदलाई निर्भीक रूपमा प्रश्न गर्ने सांसदका रूपमा उनको छवि स्थापित छ। उनलाई सिन्धुपाल्चोकलाई चिनाउन सांसद पनि भन्ने गरेको पाइन्छ ।

वि.सं. २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जित हासिल गरेपछि पुस ७ गते सपथ लिई पुस २५ गते पहिलो बैठकमा सहभागी भएका उनले २०८२ भदौ २७ गतेसम्म करिब ३३ महिनाको अवधिमा संसद बैठकहरूमा ९५ प्रतिशतभन्दा बढी उपस्थिति कायम राख्दै कुल ११६ पटक सम्बोधन गरे । उनले शून्य समय, आकस्मिक समय, विशेष समय, सैद्धान्तिक छलफल, राजस्व तथा व्यय अनुमान छलफल र प्रश्नोत्तर कार्यक्रममार्फत निर्वाचन क्षेत्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा केन्द्रित रहेर सम्बोधन गरे । निर्वाचित भएको पहिलो वर्ष (२०७९ पुसदेखि २०८० मङ्सिरसम्म) प्रतिनिधिसभाका ९३ बैठक बसे, जसमध्ये सापकोटा ८१ बैठकमा उपस्थित रहे। सो वर्ष उनले संसद्मा ३१ पटक सम्बोधन गरे। पूर्वाधार विकास समितिका सदस्यका रूपमा उनी कार्यकालभर सक्रिय रहे।

दोस्रो वर्ष (२०८० पुसदेखि २०८१ मङ्सिरसम्म) सभाका ७९ बैठकमध्ये ७७ बैठकमा उपस्थित भई ३६ पटक सम्बोधन गरे। यस अवधिमा पनि उनी पूर्वाधार विकास समितिमा नियमित रहे। समितिले सो अवधिमा अरनिको राजमार्गको सम्पूर्ण खण्डको अनुगमन गरेको थियो । अनुगमनको समन्वय सापकोटाले गरेका थिए।

तेस्रो वर्ष (२०८१ पुसदेखि २०८२ भदौ २७ गतेसम्म) सभाका कुल ७९ बैठक बसे । जसमध्ये ७६ बैठकमा उपस्थित रहँदै उनले ४९ पटक सम्बोधन गरे। समितिको बैठकमा पनि उनी नियमित र सक्रिय रहे।

विषयवस्तु उठान

उनले संसदमा पेश भएका सबैजसो विधेयकहरूमा आवश्यक संशोधन दर्ता गरे । संशोधनमाथि भएका छलफलमा भाग लिए । उनले जिल्ला तथा निर्वाचन क्षेत्रका तातोपानी नाका सुचारु गर्ने, अरनिको राजमार्ग सुधार तथा स्तरोन्नति, जुरे पहिरो प्रभावितको नाममा उठेको रकम वितरण, ओरेन्ट म्याग्नेसाइट पुनःसञ्चालन, बलेफी जलविरे कात्तीके तेम्बाथान, २१ किलो वाफल सुकुटे, टुनीबोटे मेलडाँडा भैरवकुण्ड, बाह्रबिसे बुधेपा कालिन्चोकलगायतका सडक स्तरोन्नति, विपद् प्रभाव न्यूनीकरण,  मजबुत पूर्वाधार, दुग्ध किसानको बक्यौता रकम भुक्तानी, पुल क्षति मर्मत तथा तातोपानी नाकामा अत्यावश्यक भवन निर्माणजस्ता कयौं विषय उठाए । साथै, जंगली जनावरबाट बालीनाली संरक्षण, अरनिको बसपार्कको स्टेशन जडिवुटि बसपार्कमै हुने व्यवस्था र विपद् पूर्वतयारीका विषय पनि उनले निरन्तर उठाएका थिए ।

राष्ट्रिय मुद्दामा उनले युवा बेरोजगारीको समस्या सम्बोधन र सरकारी दायित्वमा झकझकाई रहे । प्रतिनिधि सभाको नियमावली संशोधन दर्ता गरेर प्रचलनमा रहेके ढ्यापढ्याप समयको नाम आकस्मिक समय हुने सुनिश्चित गराए । हरेक वर्ष दोहोरिरे असारे विकासको समस्या समाधान गर्न एकै नासले बजेट कार्यान्वयनका लागि क्यालेन्डर निर्माण, समयानुकूल संसद सभाकक्ष र प्रविधिको आधुनिकीकरण, संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्याउने, विपद व्यवस्थापन पूर्वतयारी, भुटानी शरणार्थी प्रकरण र दोशीमाथि कारबाही, संवैधानिक निकायलाई ‘रिटायर्ड क्लब’ जस्तो बन्नबाट जोगाउनु पर्ने विषय, राजनीतिक परिवर्तनको जग माओवादी जनयुद्धको सम्मान,  भ्रष्टाचार नियन्त्रण तथा बजेट छुट्याउने परम्परागत तरिकामा सुधारजस्ता विषयमा स्पष्ट धारणा राखे ।

उनी सो अवधिको संसदमा सम्पत्ति विवरण बुझाउने पहिलो सांसदसमेत हुन्। जलवायु परिवर्तन र त्यसको प्रभावका विषयमा सक्रिय रहँदै उनले कोप–२९ मा नेपालको प्रतिनिधित्व र सम्बोधनका विषयमा राष्ट्रपतिसँग समन्वय गरेका थिए। संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिको सदस्यका रूपमा पनि उनले भूमिका निर्वाह गरेका थिए।

उनी भन्छन्

नविन अभ्यास विद्यालयमा सांसद, संसदमा विद्यार्थी

सांसद रहँदा माधव सापकोटा ‘सुबोध’ले सम्भवतः नेपालमै पहिलो पटक नविन र उदाहरणीय अभ्यासको सुरुआत गरे । उनले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरूमा प्रत्यक्ष रूपमा कक्षाकोठामा पुगेर संसद र सांसदको भूमिकाबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरे । लोकतन्त्रका आधारभूत मूल्य, संविधान, संसद्को संरचना र जनप्रतिनिधिको दायित्वलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक रूपमा बुझाउन उनले यो कार्यक्रम अघि बढाएका थिए ।

कार्यक्रमअन्तर्गत उनले निर्वाचन क्षेत्रका करिब दुई दर्जन विद्यालयमा कक्षा लिए । साथै, करिब एक दर्जन विद्यालयका विद्यार्थीहरूलाई संघीय संसद भवनमा आउजाउको व्यवस्था गरी संसद बैठकको प्रत्यक्ष अवलोकन गराए । यस अभियानलाई उनले “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” नाम दिएका थिए। उनले गर्ने अन्तरक्रिया विशेष गरी कक्षा ९ र १० को सामाजिक अध्ययन विषयको पाठ्यक्रममा आधारित हुन्थ्यो । कक्षा समय ४५ मिनेटको रहने यस कार्यक्रममा पहिलो ३० मिनेटमा संसद्, सांसद र शासन प्रणालीसँग सम्बन्धित १० वटा मुख्य विषयमा संक्षिप्त तर स्पष्ट जानकारी दिइन्थ्यो भने बाँकी १५ मिनेट विद्यार्थीहरूसँग खुला छलफलका लागि छुट्याइन्थ्यो ।

कार्यक्रमको सुरुआतमा उनले छोटो परिचय दिँदै आफ्नो विद्यार्थी जीवनदेखि राजनीतिप्रतिको रुचि, सिन्धुपाल्चोक–१ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेको अनुभव  र विद्यार्थीलाई संसद् अवलोकन गराउने कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँथे । त्यसपछि कक्षा ९ र १० को सामाजिक अध्ययनमा समावेश विषयहरूसँग जोडेर उनले संसद्को संरचना, प्रतिनिधिसभा र राष्ट्रिय सभाको भूमिका, कानुन निर्माण प्रक्रिया, बजेट पारित हुने प्रक्रिया, सांसदको जिम्मेवारी, जनप्रतिनिधि र जनताको सम्बन्ध, विकास योजनामा सांसदको भूमिका, संसदीय समितिको काम, संसदीय शब्दावली (जस्तै शून्य समय, विशेष समय, आकस्मिक समय), तथा सरकारको निगरानी जस्ता विषयमा क्रमशः छलफल गर्थे । उनले शक्तिपृथकीकरणको सिद्धान्तलाई सरल उदाहरणमार्फत बुझाउँथे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सम्बन्धलाई परिस्थितिअनुसार फरक फरक भूमिकामा देखिने शक्ति सन्तुलनका रूपमा व्याख्या गर्दै, संविधानले यी तीनै अङ्गलाई समान रूपमा महत्त्वपूर्ण मानेको कुरा स्पष्ट पार्थे ।

कार्यक्रमको अन्तिम चरणमा विद्यार्थीहरूलाई प्रश्न सोध्ने, जिज्ञासा राख्ने र आफ्ना विचार व्यक्त गर्ने अवसर दिइन्थ्यो । उनले अहिलेका विद्यार्थी नै भोलिका स्थानीय सरकार, प्रदेश सभा र संघीय संसदका सम्भावित नेतृत्व भएको उल्लेख गर्दै लोकतन्त्र र राष्ट्र निर्माणमा उनीहरूको भूमिकाबारे प्रेरणादायी सन्देश दिन्थे ।

“विद्यालयमा सांसद, संसदमा विद्यार्थी” कार्यक्रम औपचारिक शिक्षा र व्यवहारिक लोकतान्त्रिक अभ्यासबीचको दूरी घटाउने एउटा महत्त्वपूर्ण प्रयास थियो । यसले विद्यार्थीहरूमा नागरिक चेतना, संविधानप्रतिको सम्मान र जनप्रतिनिधिप्रतिसंग सहज संपर्क बढाउन भूमिका खेलेको थियो ।

अन्तर्राष्ट्रिय विषय र मञ्चमा सापकोटा

सांसद बनेलगत्तै सापकोटाले जलवायु परिवर्तन र यसबाट पर्ने असर न्यूनीकरणका लागि सक्रिय अभियान सञ्चालन गरेका थिए। नेपालमा क्लाइमेट पार्लियामेन्ट स्थापना गर्न अधिकतम प्रयास गर्दै उनले यसै विषयमा भारत, बंगलादेश, इन्डोनेसिया र नेपालमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाई अवधारणापत्र प्रस्तुत गरेका थिए। उनी स्वच्छ वायुका लागि सांसद समूह (अन्तर्राष्ट्रिय सञ्जाल) का सहअध्यक्ष समेत रहेका थिए।

२०८० साल साउनको पहिलो साता अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चलाई उनले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गरेका थिए। अल्पविकसित देश समूहका सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्दै सापकोटाले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नेपालले सक्दो प्रयास गरिरहेको उल्लेख गरे। साथै नेपालजस्ता देशलाई आन्तरिक स्रोत मात्र पर्याप्त नहुने भएकाले विकसित मुलुकहरूलाई आवश्यक स्रोत उपलब्ध गराउन अपिल गरेका थिए।

२०८० साल भदौको तेस्रो साता बंगलादेशको राजधानी ढाकामा आयोजित क्षेत्रीय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै सापकोटाले जलवायु परिवर्तनबाट प्रभावित दक्षिण एसियाली मुलुकहरूले त्यसका साझा दुष्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए। स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार विकास र पर्यावरणीय सन्तुलनबीचको विरोधाभासपूर्ण चुनौती समाधान गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औंल्याएका थिए।

२०८१ मंसिरको दोस्रो साता इन्डोनेसियाको राजधानी जाकार्तामा त्यहाँको समुद्री मामिला तथा प्राकृतिक स्रोत मन्त्रालय र स्वनीतिको संयुक्त आयोजनामा सम्पन्न ग्रीन साउथ एलायन्स ऊर्जा रूपान्तरण सम्मेलनमा सापकोटाले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपालको जलवायु नेतृत्व, ऊर्जा रूपान्तरण र क्षेत्रीय सहकार्यका महत्वपूर्ण विषयहरू उठाएका थिए।

२०८२ भदौको पहिलो साता प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा आयोजित हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा उनी प्यानलिष्टका रूपमा सहभागी भए। उनले सगरमाथा संवाददेखि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८ र कोप–२९) मा भएका प्रस्तुतिकरणहरू तथा सन् २०२४ मा काठमाडौंको चन्द्रागिरीमा सम्पन्न पहाड, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवाद सम्मका महत्वपूर्ण पहलहरूबारे धारणा राखेका थिए। हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तन र त्यसका असरबारे छलफल गर्न आयोजित यस सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सापकोटा सगरमाथा संवादमा पार्टीका तर्फबाट सहभागीमध्ये एक थिए। 

डायरी र पारदर्शीता

सांसद भएपछि उनले हरेक बर्ष भए गरेका कामको विस्तृत विवरण सार्वाजनिक गरेका थिए । पहिलो वर्ष र दोस् वर्ष उनले सन्चारकर्मीमाझ कार्य प्रगति विवरण सार्वजनिक एवं अन्तरक्रिया गरे ।

उनी हरेक दिन गरेका कामबारे जानकारी सहित सामाजिक सञ्जालमा डायरी लेखेर सार्वजनिक गर्ने पारदर्शी नेता हुन् । कुन दिन कहाँ पुगेको हो, के गरेको हो, उनले त्यहिँको डायरी शीर्षकमा विवरण लेखेर जानकारी दिने गरेका छन् । 

देशकै आशा विश्वास र भरोसा

माधव सापकोटा ‘सुबोध’ जिल्लाका आम भुईमान्छेसँग जोडिएका, कार्यकर्तामैत्री र स्पष्ट विचार राख्ने गतिशील युवा नेताका रूपमा स्थापित छन्। जनयुद्दको पृष्ठभूमिबाट आएका उनी पार्टीभित्र संगठन निर्माण, अनुशासन र राजनीतिक लाइनमा दृढ रहने नेताका रूपमा चिनिन्छन्। संसद र सार्वजनिक बहसमा उनले पार्टीको धारणा मात्र नभएर  सुशासन, जवाफदेहिता र जनमुखी नीतिको आवश्यकतालाई निरन्तर उठाउँदै आएका छन् । यसले उनलाई कामकाजी र सक्रिय पार्टी प्रतिनिधिका रुपमा चिनाएको छ ।

उनी जनतासँगको नजिक, सहज र पहुँचयोग्य नेता मानिन्छन्। निर्वाचन क्षेत्रमै नियमित उपस्थिति, स्थानीय समस्या सुन्ने र प्रत्यक्ष संवाद गर्ने शैली उनको मौलिक पहिचान हो। जनताको सुख दुखका साथै सार्वजनिक कार्यक्रम र नियमित सामाजिक सञ्जालमा देखिने उनको व्यवहारले उनी जनताको बिचमा रहेर राजनीति गर्ने नेता  बनेका छन् । यही कारण उनलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले भरोसा गर्दछन् । विपक्षीले पनि सुबोध भए त ठिक छ त भनेर टिप्पणी गर्ने गर्छन् । उनि सिन्धुपाल्चोक १ सँगै देशकै आशा विश्वास र भरोसा हुन् ।

प्रतिक्रिया