सिन्धुपाल्चोक–१ मा निरन्तर जितको संकल्प र उच्च आत्मविश्वाससहित नेकपाको चुनावी अभियान तीव्र

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले विगतको जनमतलाई दोहोर्‍याउँदै पुनः ऐतिहासिक जित हासिल गर्ने दृढ आत्मविश्वासका साथ चुनावी अभियान अघि बढाएका छन्।

माधव सापकोटाप्रति बढ्दो जनविश्वासले कार्यकर्ता उत्साहित

१८ माघ, सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले विगतको जनमतलाई दोहोर्‍याउँदै पुनः ऐतिहासिक जित हासिल गर्ने दृढ आत्मविश्वासका साथ चुनावी अभियान अघि बढाएका छन्। पार्टी संगठनदेखि कार्यकर्ता पंक्तिसम्म जित दोहोर्‍याउने मनोबल र उत्साह स्पष्ट देखिएको छ।

यसै अभियानअन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित बुथ परिचालन कमिटी अन्तर्गत निर्वाचन कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले फागुन २१ को निर्वाचनलाई निर्णायक मोडमा पुर्‍याउने उद्देश्यसहित बुथस्तरीय परिचालन, मतदाता केन्द्रित अभियान तथा घरदैलो कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’ले सिन्धुपाल्चोक–१ मा पार्टीप्रति जनताको विश्वास झन् बलियो बन्दै गएको उल्लेख गर्दै विगतको जित इतिहास नभई आगामी जितको आधार भएको बताए। उनले जनताले विश्वास गरेर पठाएका प्रतिनिधि माधव सापकोटा ‘सुबोध’ले संसदमा उठाएका जनमुखी आवाज, विकासका पहल र सुशासनमा देखाएको इमानदारीकै कारण नेकपा आज जित दोहोर्‍याउने अवस्थामा पुगेको स्पष्ट पारे।

कार्यक्रममा गाउँपालिका कमिटीका निर्वाचन परिचालन समितिका संयोजक तथा विशेष अतिथि अनन्त प्रकाश श्रेष्ठले संगठनात्मक तयारी निर्णायक चरणमा प्रवेश गरिसकेको बताउँदै प्रत्येक बुथलाई जितको आधारशिला बनाइने दृढता व्यक्त गरे। उनले कार्यकर्तालाई अनुशासित, योजनाबद्ध र मतदाता मैत्री अभियानमा केन्द्रित हुन आह्वान गरे। बैठकमा जिल्ला सदस्य सुरेश थामी तथा जिल्ला सदस्य एवम् नेपाल थामी समाजका केन्द्रीय महासचिव शरण थामीले पार्टीले समुदाय, वर्ग र भूगोलका वास्तविक मुद्दा उठाएकै कारण जनसमर्थन निरन्तर विस्तार हुँदै गएको बताएका थिए। पहिचान, समावेशिता, विकास र रोजगारीका सवालमा नेकपा तथा युवा नेता ‘सुबोध’ले संसदमा खेलेको भूमिकाले जनताको भरोसा अझ मजबुत बनेको उनीहरूको भनाइ थियो।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सक्रिय कार्यकर्ता नारायण थामी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी थामीले नेकपाको वैचारिक स्पष्टता, जनमुखी राजनीति र परिवर्तनको एजेन्डाले आफूलाई आकर्षित गरेको बताउँदै ‘सुबोध’लाई विजयी बनाउन सिंगो पिस्कर एकजुट हुने प्रतिबद्धता व्यक्त गरे।

पार्टीका स्थानीय नेताहरूका अनुसार सिन्धुपाल्चोक–१ मा यसपटकको निर्वाचन प्रतिस्पर्धा मात्र नभई जनताले प्रतिनिधिको कामको मूल्यांकन गर्ने अवसर पनि हो। विगतको ३३ महिने कार्यकालमा ‘सुबोध’ले संसदमा उठाएका राष्ट्रिय तथा स्थानीय मुद्दा, विकासमा देखिएको गति, पहलकदमी र जिम्मेवार जनप्रतिनिधिको भूमिकाले जित दोहोर्‍याउने बलियो आधार तयार भइसकेको उनीहरूको भनाइ छ। नेकपाले पालिकास्तरीय बैठक सम्पन्न गरेपछि हाल बुथस्तरीय प्रशिक्षण र मतदाता भेटघाटलाई अझ तीव्र बनाउँदै चुनावी अभियानलाई अन्तिम चरणतर्फ अघि बढाएको जनाएको छ।

प्रतिक्रिया