

२३ माघ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय, प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिको आयोजनामा आज काठमाडौंमा बृहत् मतदाता भेटघाट, उम्मेदवार भेटघाट तथा पार्टी समायोजन कार्यक्रम आयोजना हुने भएको छ। आज बिहान ११:३० बजे काठमाडौंको जडिबुटिस्थित स्याजिस्टिक इभेन्ट्स एण्ड बैंक्वेटमा हुने कार्यक्रममा सिन्धुपाल्चोकबाट काठमाडौंमा बसोबास गर्ने मतदाता, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन् भने सहसंयोजक माधव कुमार नेपाल लगायत शीर्ष नेताहरूको विशेष उपस्थिति रहने बताइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उमेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ र भगवती नेपाल लगायतका नेताहरू सहभागी रहनेछन्। मतदाता भेटघाटसँगै पार्टी प्रवेश तथा समायोजन कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ, यसअन्तर्गत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपामा समाहित हुने भनिएपनि कुन दलबाट को को प्रवेश गर्न लागेका हुन भनेर सार्वजनिक गरिएको छैन।
फागुन २१ मा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा रहेका सिन्धुपाल्चोकवासी मतदातालाई संगठित गर्ने र चुनावी अभियानलाई थप तीव्र बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक समितिका ताेकेन्द्र गतराजले जानकारी दिए। आयोजकले काठमाडौंमा रहेका सम्पूर्ण सिन्धुपाल्चोकवासीलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेका छन्।

