

२४ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोकको मात्रै नभई देशकै साझा नेताका रूपमा स्थापित भइसकेको बताएका छन्। उनले युवा नेता सापकोटाको कामकारबाहीले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि छवि र व्यक्तित्व निर्माण भइसकेको बताए।
शुक्रबार नेकपा क्षेत्र नं. १ को सम्पर्क समन्वय तथा निर्वाचन परिचालन समितिले काठमाडौंमा आयोजना गरेको उम्मेदवार भेटघाट एवं पार्टी समायोजन कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले पार्टीका तर्फबाट सिन्धुपाल्चोक–१ का प्रत्यक्षतर्फका उम्मेदवार सापकोटालाई देशभरबाट आशा गरिएका अग्रणी युवा नेतामध्ये एकका रूपमा आफूले हेरेको बताए। केही वर्षदेखि उक्त हैसियत बनाउन नेतृत्वले मेहनत गरेको उल्लेख गर्दै उनले अब सापकोटालाई जिताएर पठाएपछि के बनाउने भन्ने आफूले सोचिसकेको र त्यसको तयारीमा लाग्न आग्रह गरे।
हजारौँ नेता–कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रमको अर्को आकर्षण पार्टी समायोजन बन्यो। एमालेका स्थापित नेता तथा बाह्रविसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पा शुक्रबार नेकपामा समाहित भए। यससँगै सिन्धुपाल्चोक–१ मा नेकपाले ढुक्कको जित निकाल्ने बलियो आधार तयार भएको विश्लेषण गरिएको छ।
यसपटकको चुनावमा एमालेलाई सबैभन्दा मुस्किल देखिएको छ। एकपछि अर्को गर्दै नेता–कार्यकर्ताले पार्टी छोडिरहेका छन्। २०७९ सालको संसदीय चुनावमा एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिसमा परेका व्यापारी भरत पराजुलीले एमाले छोडेर यसपालि ‘घन्टी’ बजाउँदै हिँडिरहेका छन्। उनी बलेफी गाउँपालिकाका हुन्। निमफुन्जो शेर्पाकै शब्द सापटी लिने हो भने बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमालेको झण्डा गाड्ने मान्छे समेत नभएको बेला सो भेगमा एमालेको संस्थापक मेयर जित्ने वातावरण बनाएका उनै शेर्पा नेकपामा प्रवेश गरेका हुन्। उनले प्रचण्डसँग खादा–माला लगाएका थिए भने क्षेत्र नं. १ का नेकपाका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले अँगालो हालेर स्वागत गरे। शेर्पाले एमालेलाई सिन्धुपाल्चोकमा वडा सदस्यसमेत जित्न नसक्ने बनाउने उद्घोष गर्दै आफू र आफ्नो टिमले निस्वार्थ रूपमा युवा नेता सुबोधलाई जिताएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे। दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता सहित नेकपा प्रवेश गरेका उनी हक्की स्वभावका, स्थापित र जनताले विश्वास गरेका नेताका रूपमा चिनिन्छन्। यसअघि उनी नेकपा (एमाले) बागमती प्रदेश सदस्य थिए।
यसअघि जुगल क्षेत्रमा स्थापित एमाले नेता जेपी सिलवाल पनि ‘घन्टी’ टोलीसँग हिँडिरहेका देखिन्छन्। पहिले कांग्रेसबाट वडा अध्यक्ष जितेका, पछि एमाले प्रवेश गरेका जुगलकै सनत अधिकारीले एमालेलाई सत्तोसराप गर्दै भरत पराजुलीका मुख्य सहयोगी बनेका छन्। एमालेमा आन्तरिक असन्तुष्टिको श्रृंखला दशैंमा हाल्ने पिङको डोरीभन्दा लामो र सधैं छताछुल्ल रहेको बताइन्छ।
एमाले पृष्ठभूमिबाट आएकाहरूले एकपछि अर्को गर्दै पार्टी छोडेपछि सिन्धुपाल्चोक–१ मा यसअघि पनि हार बोहोरेका उम्मेदवार सरेश नेपाललाई यो पटक पनि संसद् जाने बाटो बन्दजस्तै भएको विश्लेषण गरिएको छ। उमेरले ६५ वर्षका उनी अब पटक–पटक हारको झोला बोकेर राजनीतिमा कति टिक्न सक्लान भन्ने हेर्न बाँकी छ। एमाले छोडेर रास्वपा प्रवेश गरेका भरत पराजुली ५७ वर्षका छन्, कांग्रेस उम्मेदवार जंगबहादुर तामाङ ४८ वर्षका छन् भने नेकपाका उम्मेदवार माधव सापकोटा ४४ वर्षका छन्।
यसैबीच नेकपाका नेता अग्निप्रसाद सापकोटाले २०६४ सालदेखि आफूहरू संस्थापन पार्टी भएको र पार्टीका निर्णय कार्यान्वयन गर्दै आएको बताए। उनले जित नेकपाकै हुनेमा कुनै शंका नगर्न आग्रह गरे। उम्मेदवार माधव सापकोटाले निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन ४ गतेबाट लिसंखुपाखरबाट घरदैलो सुरु गरिने बताए। सबै पार्टीका उम्मेदवार उस्तै नभएको स्पष्ट गर्दै उनले “हात्ती र हात्तीछाप चप्पल उस्तै हुन सक्दैन” भन्ने तर्क गरे। कार्यक्रममा समानुपातिक उम्मेदवार लालकान्छा तामाङ र भगवती नेपालले तारा चिन्रमा मतदान गर्न आग्रह गरे । कार्यक्रमपछि नेकपा वृत्तमा ढुक्कता देखिएको छ। यद्यपि देखिएको जस्तो मत ढ्वाङमा भोट नखसालुन्जेल भन्न नसकिने भन्दै उम्मेदवार सापकोटाले ऊर्जा, उत्साह र मेहनतलाई तारा चिन्हमा मतदान गरी जित सुनिश्चित गर्न अपिल गरेका छन्।
कार्यक्रमको सभापतित्व समन्वय समिति १ का संयोजक सुवास लामाले गरेका थिए भने स्वागत मन्तव्य सम्पर्क समन्वयका अध्यक्ष टोकेन्द्र गतराजले गरेका थिए ।


