सिन्धुपाल्चोक–१ मा नेकपाको पक्षमा जनलहर बढ्दो

युवा, बौद्धिक, तार्किक तथा भूगोलमा भिजेका, देश–विदेशमा चिनिएका लोकप्रिय उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई जिताउन भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।

२६ माघ, सिन्धुपाल्चोक । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा जनलहर व्यापक बन्दै गएको छ। युवा, बौद्धिक, तार्किक तथा भूगोलमा भिजेका, देश–विदेशमा चिनिएका लोकप्रिय उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई जिताउन भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।

आइतबार उम्मेदवार सापकोटा सहितको टोली जुगल गाउँपालिका वडा नं. ४ पोटलडाँडा पाङताङमा बुथ कमिटी बैठक तथा उम्मेदवार–मतदाता भेटघाट कार्यक्रममा पुगेको थियो। भव्य रूपमा सम्पन्न कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनबाट २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यका प्रत्याशी गोविन्द गुभाजु, एमाले जुगल गाउँपालिका–४ वडा कमिटी सचिव हरि भुजेल लगायत दर्जनौँ नागरिक नेकपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूले संसदमा सिन्धुपाल्चोकको आवाज बुलन्द बनाएको, भुइँमान्छेको पक्षमा निरन्तर आवाज उठाएको, तातोपानी नाका खोल्न तथा जुगल हिमाल आरोहण खुलाउन मुख्य भूमिका खेलेको, बलेफी–जलविरे–तेम्बाथान सडकलाई फराकिलो तथा स्तरोन्नति गर्दै दुई वर्षभित्र जुगल हिमाल बेसक्याम्पमा एकैदिन पुग्ने लक्ष्यसहित काम अघि बढाएको दूरदर्शी युवा नेतालाई जिताएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवप्रवेशी सबैलाई नेकपाका उम्मेदवार एवं पूर्व सांसद माधव सापकोटा ‘सुबोध’ले स्वागत गर्दै पार्टीमा समाहित भएकोमा धन्यवाद व्यक्त गरे। उनले फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गर्न अपिल गरे। सापकोटा विकासमुखी सोच, सरल स्वभाव र परिणाममुखी नेतृत्वका कारण जनतामाझ लोकप्रिय मानिन्छन्। स्थानीय मुद्दालाई राष्ट्रिय एजेन्डासँग जोड्ने क्षमताका कारण उनलाई सिन्धुपाल्चोकको भरोसायोग्य युवा नेताका रूपमा हेरिएको छ।

प्रतिक्रिया