

२८ माघ, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेपाका) का तर्फबाट सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा सुबोधले चौतारा साँगाचोकगढी नगरपालिका–२, साकिनेमा वडाध्यक्षद्वारा स्थानीय व्यापारीमाथि गरिएको निर्घात कुटपिट घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
माघ २६ गते बिहान २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा वडाध्यक्ष सुदीप श्रेष्ठले गरेको खर्चको बक्यौता माग्ने क्रममा वडाध्यक्ष श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार सरेश नेपालसहितको समूहले स्थानीय व्यापारी उमेश ढुंगानामाथि निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । कुटपिटबाट ढुंगानाको टाउकोमा गम्भीर आन्तरिक चोट लागेको र हाल उनी मध्यपुर अस्पतालमा उपचाररत रहेका छन्। उम्मेदवार सापकोटाले बागमती प्रदेश सभा सदस्य सरल सहयात्री नेता टिएन सापकोटा सहित हिजो अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घाइतेलाई भेटेपछि सापकोटाले यस किसिमको अमानवीय र आपराधिक घटनाप्रति प्रशासनको उदासीनताप्रति गहिरो खेद व्यक्त गरेका छन्। उनले दोषीलाई जोगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै निष्पक्ष छानबिन गरी संलग्न सबैमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। सिन्धुपाल्चोक प्रशासन भने घटनाबारे मुकदर्शक मात्रै बनेको र कुटमीटमा संलग्न वडाध्यकै पक्षमा ओकालत गरिरहेको पीडितको भनाई छ ।
स्थानीय स्तरमै जनप्रतिनिधिबाटै हिंसात्मक घटना घट्नु लोकतन्त्र र विधिको शासनमाथिको गम्भीर प्रहार भएको सापकोटाको भनाइ छ। यस घटनाले जिल्लामा व्यापक चासो र आक्रोश उत्पन्न गरेको छ भने पीडित पक्षले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

