

२८ माघ, काठमाडौं । जुगल गाउँपालिकाका चर्चित एवं अनुभवी राजनीतिज्ञ तथा नेकपा एमालेबाट गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्षका प्रत्याशी रहेका जयबहादुर लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामा लगायतका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।
लामा २०७९ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकाबाट नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार थिए । उक्त निर्वाचनमा नेकपाका रेशम स्याङ्बो ५ हजार ५७२ मतसहित अध्यक्षमा निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका लामा ४ हजार ४१५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका थिए ।
लामासँगै २०७४ सालमा जुगल गाउँपालिका वडा नं. ३ बाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा तामाङ, पूर्व कार्यपालिका सदस्य उमेश कार्की डोली, कान्छा नेपाली (आर्यन), छेवाङ लामा, जोनसेना लामा लगायतका नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् । अघिल्लो साता मात्रै एमालेबाट बाह्रविसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पा पनि नेकपामा समाहित भएका थिए । एक साताभित्र दुई महत्वपूर्ण नेता तथा अन्य जिम्मेवार व्यक्तिहरूको प्रवेशसँगै तारा चुनाव चिन्ह रहेको नेकपाको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ ।
अध्यक्ष प्रचण्डले देश र जनताको पक्षमा अघि बढ्ने प्रतिबद्धतासहित पार्टीमा आबद्ध भएका सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समाज परिवर्तन र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, नेताहरू टीएन सापकोटा, रेशम स्याङ्बो, ईश्वर गुभाजु, क्रान्ति योन्जन लगायतको उपस्थिति रहेको थियो ।

