

१ फागुन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये बलेफी गाउँपालिका यस वर्ष पनि ६४.४२ अंक सहित प्रथम भएको छ। गत आर्थिक वर्षको मूल्यांकनमा पनि बलेफी गाउँपालिका नै जिल्लामा पहिलो भएको थियो । बलेफीले आफ्नो सफलतालाई यस वर्ष पनि निरन्तरता दिएको हो। सिन्धुपाल्चोकमा तीन नगरपालिका र ९ गाउँपालिका छन् ।
राष्ट्रिय वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा प्रत्येक वर्ष स्थानीय तहहरूको कार्यसम्पादन मापन गरी नतिजा प्रकाशन गर्ने गर्दछ। यसै मूल्यांकनको नतिजालाई मुख्य आधार मानेर केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान विनियोजन गर्ने व्यवस्था रहेको छ।
आयोगले स्थानीय तहहरूले समयमै बजेट ल्याए/नल्याएको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, राजस्व बाँटफाँटको रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको र सार्वजनिक खर्चको पारदर्शिता जस्ता १७ वटा सूचकमा अंक प्रदान गर्दछ। साथै, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका क्षेत्रमा भएका प्रगतिलाई पनि यस मूल्यांकनमा विशेष प्राथमिकता दिइन्छ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले जनप्रतिनिधि, कर्मचारी र जनताको सामूहिक प्रयासका कारण लगातार दोस्रो वर्ष पनि जिल्लामै उत्कृष्ट हुन सफल भएको बताए । उनले आगामी दिनमा अझै परिष्कृत ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनी नेपाली तात्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका र अहिलेको नेपाली कम्युनिष्ट पार्टीका युवा नेता हुन्। कार्यसम्पादनमा आधारित यो नतिजाले स्थानीय तहहरूबीच सुशासन र विकासका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा बढाउने विश्वास लिइएको छ।


