सिन्धु १ का नेकपा उमेदवार माधव सापकोटा सुबोधको प्रतिवद्दता, पाँच वर्षमा ५ हजार रोजगारीको लक्ष्य: पूर्णपाठ
सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उमेदवार माधव सापकोटा सुबोधले प्रतिवद्दतापत्र सार्वजनिक गरेका छन् ।
पालुवान्युज, २०८२ फागुन ३ गते २१:२४ मा प्रकाशित
३ फागुन, चौतारा । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उमेदवार माधव सापकोटा सुबोधले प्रतिवद्दतापत्र सार्वजनिक गरेका छन् ।
पूर्ण पाठ :
प्रतिवद्दतापत्र
सिन्धुपाल्चोक क्षेत्र नं. १ काआदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू, प्रिय जेनजी युवा साथीहरू, नमस्कार ।
म माधव सापकोटा ‘सुबोध’, सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार, तपाईंहरूको सपना, चाहना र आकांक्षा बोकेर संसदमा उभिने सहयात्रीका रूपमा आफ्ना अठोटसहित आएको छु।
भदौ २३ पछि उत्पन्न विशेष राजनीतिक परिस्थितिले पाँच वर्षका लागि निर्वाचित अघिल्लो संसदीय कार्यकाल बिचैमा सकियो। तपाईंहरूको विश्वास, भरोसा र निरन्तर संवादसँगै मैले ३३ महिनाको संसदीय यात्रामा किसान, युवा, विद्यार्थी र स्थानीय मुद्दालाई प्राथमिकता दिएँ। “विद्यालयमा सांसद, संसद्मा विद्यार्थी” अभियानबाट सयौं विद्यार्थीलाई संसदीय प्रक्रियासँग जोडें। जलवायु संकटमा युवा पुस्ताको पीडा अन्तर्राष्ट्रिय मञ्चमा उठाएँ। तातोपानी नाका पुनः सञ्चालन, अरनिको राजमार्ग स्तरोन्नति, जुरे पहिरो पीडितलाई दशकपछि न्याय, दूर्गम गुम्बा गाउँमा पहिलो पटक बिजुली, जुगल हिमाल पर्यटनको नयाँ युग र तीन वर्षमा सात अर्बभन्दा बढी बजेट क्षेत्रमा भित्र्याउने काम गरें। यी उपलब्धि तपाईंहरूको साथ र विश्वासको परिणाम हुन्।
हिजोजस्तै आज पनि म सहिद, घाइते र आमजनताका अधुरा सपनाहरूको संवाहक बनेर उभिएको छु। प्रतिनिधि सभाको नयाँ कार्यकालका लागि फागुन २१ मा हुने चुनावमा तारा चिन्हमा मतदान गरी यो यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास गरेको छु। सिन्धुपाल्चोक-१ को सामूहिक सपनालाई म सदैव शीरमा राख्नेछु।
हाम्रो पार्टी “सुशासन र रोजगारी, समाजवादको तयारी; राष्ट्रियता र लोकतन्त्रको रक्षा, हाम्रो जिम्मेवारी” मूल नाराको प्रतिवद्दतापत्र सहित चुनावी मैदानमा छ। हाम्रो मूल स्पिरिट यही हो । यहाँ निर्वाचन क्षेत्र र उमेदवार केन्द्रित केही विषय संक्षिप्त रुपमा प्रस्तुत गरेको छु:
१. जीवन्त संसद र गुणात्मक कानुन निर्माण
संसदलाई जनमुखी बनाउन स्थानीयदेखि राष्ट्रिय महत्त्वका विषयलाई प्राथमिकताका साथ अझ प्रखर रुपमा उठाउनेछु।
गुठी समस्या, विद्यालय शिक्षा विधेयक र ढुङ्गाखानीलगायत क्षेत्र र जिल्लासँग जोडिएका प्राकृतिक स्रोतको उपयोगमा देखिएका नीतिगत र व्यावहारिक गाँठो फुकाउन कानून निर्माणमा अग्रसरता लिनेछु।
२. पर्यटन र भौतिक पूर्वाधार: ‘काठमाडौंबाट एकै दिनमा जुगल’
जुगल हिमाल सपना: आगामी २ वर्षभित्र काठमाडौंबाट एकै दिनमा जुगल हिमालको फेदीसम्म पुगेर हिउँ छुन सक्ने गरी सडक र पूर्वाधारको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने छु।
पर्यटन हब: जुगल हिमाल, सुकुटे, तातोपानी र भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबका रूपमा विकास गर्न, होमस्टे, एड्भेन्चर र इकोटुरिजम प्रवर्द्धनका लागि युवालाई तालिम तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समन्वय गर्नेछु।
धार्मिक तथा कृषिपर्यटन प्रवर्द्धन: त्रिपुरासुन्दरीमा धार्मिक पर्यटन, लिसंखुमा कृषि तथा पर्यापर्यटन प्रवर्द्धन, दुगुनागढी, लिस्तीमाई, ॐ पार्क, बाह्रबिसेहुँदै कालिञ्चोकसम्मको मार्ग विस्तार र विकासका लागि पहलकदमी लिनेछु।
हाइ–अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुट: धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई जोड दिँदै पाँचपोखरीदेखि तातोपानीसम्म हाइ अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुट विकासका लागि समन्वय गर्नेछु।
पाँच वर्षमा पाँच हजार रोजगारी: पर्यटन तथा सूचना प्रविधि क्षेत्रबाट पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित काम गर्नेछु।
सडक र विकास: अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यलाई निरन्तरता दिँदै बलेफी, नौबिसे, जलविरे, ढाँडे, कात्तिके, गुम्बा र तेम्बाथान सडकलाई जुगलको फेदीसम्म वैकल्पिक राष्ट्रिय राजमार्गको स्तरमा स्तरोन्नति गर्न नेतृत्व लिनेछु।
क्षेत्रगत विकास: चौतारा, बाह्रबिसे, जुगल, बलेफी, सुनकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर र भोटेकोशीका सडक, पूर्वाधार तथा समग्र विकासका लागि पालिकाहरूसँग समन्वय गर्दै क्षेत्रगत विकासमा अग्रसरता लिनेछु। मझौला, कृषि तथा पर्यटन सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता दिनेछु।
नाका व्यवस्थापन : ठूलो मेहनतले सञ्चालनमा ल्याइएको तातोपानी नाकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर प्रयत्न गर्नेछु।
धार्मिक संरचनाको पुनर्निर्माण: मन्दिर, गुम्बा, छोर्तेन तथा चर्चहरूको पुनर्निर्माण र सडक पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्नेछु।
प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकार: जल, जंगल र ढुंगा लगायतका प्राकृतिक स्रोतको उपयोगमा स्थानीयवासीको अग्राधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहनेछु।
३. मल, बीउ र बजारको ग्यारेन्टी; कृषिमार्फत सिन्धुपाल्चोकमा आर्थिक क्रान्ति
मूल मन्त्र:सिँचाइ, बीउ, मल, मूल्य र बजार’ लाई कृषि विकासको मूल मन्त्रका रूपमा स्थापित गर्नेछु।
बजार:उत्पादन सुरु हुनुअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था मिलाइ कुविण्डे र पाखरमा रहेका चिस्यान केन्द्रहरू सञ्चालनमा ल्याई भण्डारण तथा बजारको सुनिश्चितता गराउने छु।
सम्मानित र आकर्षक पेसा:कृषिलाई व्यावसायिक, सम्मानित र आयमुखी पेसाका रूपमा विकास गर्दै जोडि युवाको सहभागिता बढाउन पहल गर्नेछु।
जोखिम न्यूनीकरण र बिमा:कृषि पेसामा रहेको जोखिम न्यूनीकरण गरी यसलाई सुरक्षित र भरपर्दो पेसा बनाउन कृषि तथा पशु बिमाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछु। कृषि तथा पशुपक्षी बिमाका कार्यक्रमका लागि स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा नीतिगत पहल लिनेछु।
प्राविधिक सेवा विस्तार:वडा तहमा एक जना दक्ष कृषि प्राविधिक र एक जना पशु प्राविधिकको व्यवस्था गरी किसानको घरदैलोमै सेवा पुर्याउने वातावरण सिर्जना गर्नेछु।
जडीबुटी उद्योग प्रवर्द्धन: हिमाली भेगमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा आम्दानी वृद्धि गर्ने पहल गर्नेछु।
४. विद्यालयमै सीप, प्लसटु गरेपछि रोजगारी
विद्यालय शिक्षा विधेयक: अघिल्लो कार्यकालमा गहन छलफल भएर पनि पारित हुन नसकेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र कानूनका रूपमा पारित गराउन निरन्तर पहल गर्नेछु।
नमुना विद्यालय अभियान: सामुदायिक विद्यालयहरूलाई नमूना आवासीय विद्यालयका रूपमा विकास गर्दै सबै तहमा निःशुल्क, गुणस्तरीय सीप सहितको प्राविधिक शिक्षा सुनिश्चित गर्न नीतिगत पहल गर्नेछु। प्लसटु गरेपछि रोजगारीमा जोडिने व्यवस्थाका लागि नीतिगत पहलकदमी लिने छु ।
स्मार्ट कक्षा विस्तार: विद्यालयहरूमा इन्टरनेट सुविधा तथा डिजिटल/स्मार्ट कक्षाको व्यवस्था गर्न आवश्यक समन्वय र पहल गर्नेछु।
करियर काउन्सिलिङ: एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई करियर काउन्सिलिङ उपलब्ध गराई उच्च शिक्षातर्फ प्रोत्साहन गर्न आवश्यक समन्वय र सहजीकरण गर्नेछु।
मर्यादित शिक्षण पेशा : शिक्षण पेशालाई आकर्षक, सुरक्षित र मर्यादित बनाउन तलब, तालिम तथा सेवासुविधामा वृद्धि गर्ने कानूनी व्यवस्थाका लागि पहल गर्नेछु। स्थायी शिक्षकहरूको ग्रेड, आवधिक तथा तहगत बढुवा अन्य सरकारी सेवासरह बनाउन नीतिगत पहल गर्नेछु। साथै राहत, अस्थायी, अनुदान, बालविकास (ECED) शिक्षक तथा विद्यालय कर्मचारी, निजी तथा संस्थागत विद्यालयका शिक्षक र प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी विषयमा नीतिगत सम्बोधनका लागि पहल गर्नेछु।
स्वास्थ्य सेवा: पहिलो अधिकार र प्राथमिकता स्वास्थ्य सेवालाई नागरिकको पहिलो अधिकार र पहिलो प्राथमिकताका रूपमा सुनिश्चित गर्दै हरेक वडाको प्राथमिक स्वास्थ्य केन्द्रसम्म अत्यावश्यक विशेषज्ञ सेवा विस्तार गर्न नीतिगत पहल गर्नेछु।
सुरक्षा र स्वास्थ्य बीमा: विपन्न, महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा सुनिश्चित गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत प्रयास गर्नेछु।
५. युवा, रोजगारी र डिजिटल सिन्धुपाल्चोक
डिजिटल सिन्धुपाल्चोकको आधार निर्माण: गाउँ बस्तिमा उच्च गतिको इन्टरनेट र डिजिटल साक्षरता केन्द्र स्थापना गरी “डिजिटल सिन्धुपाल्चोक” निर्माणको नेतृत्व गर्ने छु ।
जेनजी युवाहरूको प्रविधिप्रतिको लगावलाई अवसरमा रूपान्तरण गर्दै नयाँ पुस्तालाई सुन्ने र उनीहरूमाथि लगानी गर्ने कार्यक्रम अघि सार्ने छु ।
मर्यादित रोजगारी र स्वरोजगारी विस्तार:आगामी पाँच वर्षमा कृषि, पर्यटन र आईटी क्षेत्रमा पाँच हजार ‘मर्यादित युवारोजगारी’ सिर्जना गर्ने स्पष्ट लक्ष्यसहित अघि बढ्ने छु ।
युवा लक्षित रोजगारी तथा स्वरोजगारी प्रवर्द्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरी समग्र गुरुयोजना तयार गर्ने छु ।
उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन: स्वदेशमै उद्यम गर्न चाहने युवाका लागि स्टार्टअप कोष स्थापना तथा सहुलियतपूर्ण कर्जाको पहुँच सुनिश्चित गर्न आवश्यक समन्वय र नीतिगत पहल गर्ने छु ।
सीप विकास र करिअर मार्गदर्शन:माध्यमिक तह पार गरेपछि युवाहरूलाई अनिवार्य सीपमूलक तालिम र शैक्षिक परामर्श प्रदान गरी रोजगारीसँग प्रत्यक्ष जोड्ने नीतिगत पहल गर्ने छु । अवसरसम्बन्धी विश्वसनीय सूचना उपलब्ध गराउने प्रभावकारी संयन्त्र विकास गर्ने छु ।
विकासमा युवाको अनिवार्य सहभागिता: विकास निर्माणका सम्पूर्ण कार्यमा युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्न मेहनत गर्ने छु ।
खेलकुद र प्रतिभा प्रवर्द्धन: खेलकुद प्रतिभाको पहिचान, विशिष्टीकरण, छात्रवृत्ति तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिने छु । आवश्यक खेल मैदान तथा खेल पूर्वाधार निर्माणमा समन्वय र पहल गर्ने छु ।
६. सुशासनका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
सम्पत्ति छानबिन: सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको पारदर्शितामा कडाइपूर्वक अघि बढ्ने र भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्ने छु ।
डिजिटल प्रशासन: सरकारी सेवालाई पूर्ण डिजिटल बनाई बिचौलिया प्रथा र ढिलासुस्तीको अन्त्य गर्न नीतिगत पहल गर्ने छु ।
जवाफदेहिता: हरेक नागरिकले सांसदको काम हेर्न पाउने व्यवस्थाका लागि सबैखाले प्रयास र पहलकदमी गर्ने छु ।
७.अटल प्रतिबद्धता:देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन। स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीति मेरो प्रतिबद्धता हो। राजनीतिक संस्कार र सभ्य संस्कृति निर्माणमा दृढतापूर्वक लाग्ने छु। समाजमा आपसी सम्मान, सहअस्तित्व र सामाजिक सद्भाव कायम राख्न निरन्तर पहल र नेतृत्व गर्ने छु।
८. विपद् व्यवस्थापन र जलवायु न्याय
पूर्वतयारी: विपद् पूर्वतयारी योजना र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती विकासको योजना लागू गर्न समन्वय र नीतिगत व्यवस्था गर्ने छु ।
जलवायु पैरवी: जलवायु परिवर्तनले हाम्रो हिमाली र पहाडी क्षेत्रमा पारेको असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको आवाजलाई अझ सशक्त बनाउने छु ।
राहत र पुनर्स्थापना: बाढी र पहिरो प्रभावित परिवारका लागि दीर्घकालीन जीविकोपार्जन योजना ल्याउन नीतिगत पहल लिने छु ।
जलवायु अनुकूलन: जलवायु अनुकूलित कृषि प्रविधि, वन संरक्षण र हरित पूर्वाधारमा जोड दिँदै युवालाई विपद् पूर्वतयारीमा नेतृत्वदायी जिम्मेवारीको नीतिगत पहल लिने छु ।
९. सामाजिक न्याय र समावेशिता
सम्मान: सहिद एवं बेपत्ताका परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यका तर्फबाट विशेष सुविधा र सम्मान प्रदान गराउने प्रबन्धका लागि योगदान गर्ने छु ।
समान अवसर: महिला, दलित, आदिवासीजनजाति, मजदुर, किसान र सीमान्तकृत समुदायको राज्यका हरेक अङ्गमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
१०. जलस्रोत र ऊर्जा विकास
स्थानीयलाई अग्राधिकार: जल, नदी नाला र हिमाली स्रोतलाई सदुपयोग गरी स्थानीयलाई सेयर, रोजगारी र रोयल्टीमा प्राथमिकता दिने नीतिगत पहल लिने छु ।
जलविद्युत् प्रवर्द्धन: साना तथा मझौला जलविद्युत् आयोजना प्रवर्द्धनका समन्वय र नीतिगत पहल लिने छु ।
११. विदेशमा रहेका नेपालीका अधिकार र अवसर सुनिश्चितता
मताधिकारको सुनिश्चितता: ‘नोट चल्ने, भोट नचल्ने’ वर्तमान व्यवस्थाको अन्त्य गर्दै बसेकै देशबाटै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न निरन्तर पैरवी गर्ने छु र आवश्यक कानून निर्माणका लागि सक्रिय पहल लिने छु।
सीप, अनुभव र पूँजीको उपयोग: बैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश गएका नागरिकहरूसँग नियमित छलफल र अन्तरक्रिया गर्दै उनीहरूको सुझावलाई नीतिगत प्रक्रियामा समेट्ने छु।
विदेशबाट फर्किएका, विशेषतः युवाहरूको सीप, अनुभव र क्षमताको उपयोग हुने स्पष्ट नीतिगत व्यवस्था निर्माणका लागि काम गर्ने छु ।
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
यो प्रतिबद्धतापत्र मेरो राजनीतिक अठोट हो। हामीसँग स्पष्ट दृष्टिकोण र काम गरेर देखाएको अनुभव छ। हाम्रो विजय सिन्धुपाल्चोकको समृद्धिको प्रस्थानविन्दु हुनेछ। त्यसैले, फागुन २१ गते ‘तारा’ चिह्नमा मतदान गरी मलाई र हाम्रो पार्टीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुन विनम्र अनुरोध गर्दछु। आउनुहोस्, फागुन २१ लाई तारामय बनाऔँ!
धन्यवाद।
माधव सापकोटा ‘सुबोध’ उम्मेदवार, प्रतिनिधिसभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली कम्युनिस्ट पार्टी