

४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले आजदेखि लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा ‘मतदाता भेटघाट तथा सुझाव संकलन’ अभियानको सुरुवात गरेका छन्। हिजो मात्रै जिल्ला सदरमुकाम चौतारामा आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका सुबोधलाई आज लिसंखुपाखरमा हजारौँ नेता, कार्यकर्ता र आम मतदाताले भव्य स्वागत गरेका छन्।
पाखर बजारबाट सुरु भएको अभियानमा ‘तारा’ अंकित झण्डासहितको विशाल जुलुस निकालिएको थियो। स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु, झ्याली र बाजागाजा र सांस्कृतिक झाँकीका साथ उनलाई स्वागत गरेका थिए। तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखरको पाखर बजारदेखि आसपासका गाउँहरू ‘तारामय’ बनेका थिए। र्यालीमा सहभागीहरूको उत्साह र व्यापक जनसहभागिताले विजय र्यालीको झल्को मिलेको स्थानीय विश्लेषकहरूले टिप्पणी गरेका छन्।
अभियानमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। पूर्व सभामुख अग्निप्रसाद सापकोटा समेत सुबोधलाई शुभकामना दिन र हौसला बढाउन लिसंखुपाखर पुगेका थिए। उनले सुबोधको जिन सुनिश्चित भएको बताएका थिए। आम जनताको मनमा बसेको गोलाकारभित्रको हँसिया हतौडा चुनाब चिन्न निकालेर तारा चिन्ह राख्नुपर्नेमा उनको जोड थियाे ।
कार्यक्रममा निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य द्वय सरल सहयात्री र अमृता नेपाल, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पा र पूर्व सांसद सिंहबहादुर बिक लगायतका नेताहरूले सुबोधको पक्षमा जनलहर सिर्जना गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरूले सुबोधलाई एक ‘परीक्षित र विकासप्रेमी’ नेताको रूपमा प्रस्तुत गर्दै आगामी फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गरे।
ठूलो पाखरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार सापकोटाले आफ्नो अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा भएका उपलब्धि र आगामी योजनाहरूबारे विस्तृत जानकारी गराए। उनले जनताको विश्वास र माया नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै अघिल्लो कार्यकालमा आफूले गरेका प्रतिवद्दता पूरा गरेको बताए । स्वास्थ्य, शिक्षा, सडक र पर्यटनका क्षेत्रमा महत्वपूर्ण जग बसाल्ने काम गरेको बताए। बिचैमा संसद विघटन हुँदा अधुरा रहेका आयोजनाहरू पूरा गर्न र सिन्धुपाल्चोकलाई समृद्ध बनाउन यसपटक पूर्ण कार्यकालको अवसर दिन उनको आग्रह थियो । उनले कृषिमा आधुनिकीकरण र स्थानीय स्तरमै पाँच वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने आफ्ना नयाँ योजनाहरू पनि मतदातामाझ सुनाए।
सापकोटाको अभियानको मुख्य विशेषता भनेकै मतदातासँगको प्रत्यक्ष संवाद र सुझाव संकलन रह्यो। डाँडापाखर, निगाले हुँदै जेठलसम्मका टोल-टोलमा पुगेर सापकोटाले स्थानीयसँग सम्वाद गरि समस्याहरू सुनेका थिए। उनले नागरिकका गुनासो र सुझावलाई डायरीमा नोट गर्दै ती समस्याहरूलाई आफ्नो आगामी कार्यकालको प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए।
लिसंखुपाखरमा सोमबार ओर्लिएको जनमास र उत्साहले प्रतिनिधि सभा सदस्यका उम्मेदवार ‘सुबोध’ को पक्षमा बलियो जनमत रहेको पुष्टि गरेको छ।

