‘सुबोधलाई जिताउन’ लिसंखुका कांग्रेस–एमाले कार्यकर्ता ‘तारा’ पार्टीमा समाहित

आगामी निर्वाचनको तयारी र मतदाता भेटघाटका क्रममा सिन्धुपाल्चोकमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ।

५ फागुन, सिन्धुपाल्चोक । आगामी निर्वाचनको तयारी र मतदाता भेटघाटका क्रममा सिन्धुपाल्चोकमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको दोस्रो दिन आज लिसंखुपाखरका प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी सुबोधलाई जिताउने अभियानमा होमिएका छन्।

अभियानका क्रममा लिसंखुपाखरको सिक्रे, अत्तरपुर, लिसंखु, निगाले, नारगाउँ र वाफल तथा सुनकोशी गाउँपालिकाको भन्ज्याङ, १२ किलो, रैकर डाँडा, तित्रे र घर्तिगाउँ पुग्दा उम्मेदवार सुबोधलाई स्थानीयले भव्य स्वागत गरेका थिए। सोही अवसरमा लिसंखु–२ बाट नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी शम्भु घिसिङ, कुल बहादुर घिसिङ ‘कृष्ण’, माइला तामाङ, शम्भु योन्जन, निमा लामा र अशोक योन्जन लगायतका नेता-कार्यकर्ताहरू ‘तारा’ चिन्हमा मतदान गरी सुबोधलाई जिताउने संकल्पका साथ पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार सापकोटाले विगतका कामहरूको समीक्षा र आगामी दिनका लागि आफ्ना राष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए । विशेष गरी यसपटक चुनाव चिन्ह परिवर्तन भई ‘तारा’ भएको विषयमा मतदाताहरूलाई प्रष्ट पार्दै उनले जनताका सुझाव सुन्न घरदैलोमा आएको बताए । अभियानका क्रममा मतदाताहरूले आगामी कार्यकालका लागि गर्नुपर्ने कामहरूको टिपोट गराउनुका साथै आफ्ना जिज्ञासा र गुनासाहरू खुलेर राखेका थिए। सुबोधले मतदाताहरूको उत्साहजनक सहभागिता र समर्थनप्रति आभार प्रकट गर्दै भोलि पनि घरदैलो अभियान जारी रहने जानकारी दिएका छन् । जिल्लाको समग्र विकास र समृद्धिका लागि ‘तारा’ चिन्हमा मतदान गर्न उपयुक्त रहेको भन्दै स्थानीय मतदाताहरूले सुबोधलाई जिताउने सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया