सहिद भूमि पिस्करमा सुबोधको प्रतिबद्धता: ‘गुणस्तरीय कानून र विकास निर्माणमा नेतृत्वदायी भूमिका खेल्नेछु’

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा 'सुबोध' ले निर्वाचित भएपछि गुणस्तरीय कानुन निर्माणमा सशक्त भूमिका खेल्ने र विकास निर्माणमा प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

८ फागुन, सिन्धुपाल्चोक। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले निर्वाचित भएपछि गुणस्तरीय कानुन निर्माणमा सशक्त भूमिका खेल्ने र विकास निर्माणमा प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फागुन ३ गते चौतारामा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरी मतदाता भेटघाट तथा सुझाव संकलन अभियानमा होमिएका उनले अभियानको पाँचौँ दिन शुक्रबार त्रिपुरासुन्दरीको पिस्कर पुगेर सो प्रतिबद्धता पुनः दोहोर्‍याएका हुन्। लिसंखुपाखरबाट घरदैलो सुरु गरी सुनकोशी हुँदै त्रिपुरासुन्दरी पुगेका सापकोटाले तौथलीका विभिन्न गाउँबस्तीमा भेटघाट र कोणसभा गरेका छन्। शुक्रबार साँझ पिस्कर पुगेका उनलाई स्वागत गर्न उपस्थित स्थानीयको ठूलो संख्यालाई थामी संग्रहालयको प्राङ्गणमा सम्बोधन गर्दै सापकोटाले आफू युवा पुस्ताको वास्तविक प्रतिनिधि भएको स्पष्ट पारेका छन्। अघिल्लो कार्यकालमा सशक्त जनप्रतिनिधिको छवि बनाएका र बन्द अवस्थाको तातोपानी नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका उनले यसपटक सिन्धुपाल्चोकको समृद्धिका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्। पिस्करपछि शुक्रबार अबेर उनले धुस्कुनमा मतदाता भेटघाट गरेका छन् ।

सापकोटाले युवाका मुद्दालाई प्राथमिकतामा राख्दै ‘हेर्ने मात्र होइन, छुने जुगल’ को अवधारणा अन्तर्गत काठमाडौंबाट एकैदिनमा बेसक्याम्प पुग्ने सडक र पूर्वाधार निर्माण गर्ने संकल्प गरेका छन्। उनले आगामी ५ वर्षमा ५ हजार रोजगारी सिर्जना गर्ने, अरनिको राजमार्ग र बलेफी–जलविरे–तेम्बाथान सडकको स्तरोन्नति एवं कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्। त्यस्तै, तातोपानी नाकालाई थप व्यवस्थित बनाउँदै आर्थिक समृद्धिको ढोका खोल्ने र निर्वाचन क्षेत्रका सबै पालिकामा विकासका लागि तीनै तहका सरकारबीच समन्वय गर्ने योजना उनले अघि सारेका छन्।

कृषिमा आधुनिकीकरण गरी मल, बीउ र बजारको सुनिश्चितता गर्ने, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र प्लस-टु पछि रोजगारीको ग्यारेन्टी गर्ने उनले बताएका छन्। साथै सरकारी सेवालाई डिजिटल बनाई भ्रष्टाचार नियन्त्रण गर्ने, सुरक्षित बस्ती विकास र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पैरवी गर्ने एवं सहिद परिवार, घाइते र सीमान्तकृत समुदायको हक सुनिश्चित गर्ने अठोट उनले व्यक्त गरेका छन्। प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकार र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने कानुन निर्माणका लागि आफूलाई ‘तारा’ चिन्हमा मतदान गर्न उनले आम मतदातासँग अपिल गरेका छन्।

प्रतिक्रिया