

९ फागुन सिन्धुपाल्चोक । मतदाता भेटघाट र सुझाव संकलन अभियानअन्तर्गत दुई दिन त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न बस्तीमा पुगेका नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्।
स्थानीयहरूले अघिल्लो पटक निर्वाचित भएपछि संसदमा गुठी समस्याबारे सशक्त आवाज उठाएकोमा धन्यवाद दिँदै यसपटक पनि जिताउने प्रतिबद्धता जनाए। उनीहरूले यस पटक भने गुठी समस्याको स्थायी समाधानका लागि स्पष्ट कानून निर्माण गरी ठोस पहल गरिदिन आग्रह गरे।
जवाफमा सापकोटाले आफ्नो चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदामै गुठी समस्या समाधानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक कानून निर्माणमा अग्रसरता लिने प्रतिबद्धता दोहोर्याए। २०८२ जेठ ५ गते सापकोटाले प्रतिनिधि सभा बैठकमा सिन्धुपाल्चोकका गुठी समस्याबारे धारणा राखेर सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

