चौतारा, बाह्रबिसे र त्रिपुरामा एकैदिन सयौंले त्यागे एमाले-कांग्रेस, सुबोध जिताउन नेकपा तारामा गोलबन्द

प्रतिनिधि सभा सदस्य निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहँदा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा एमाले र कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूको लहर तीव्र बनेको छ।

१० फागुन, सिन्धुपाल्चोक। प्रतिनिधि सभा सदस्य निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहँदा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा एमाले र कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूको लहर तीव्र बनेको छ।

शनिबार मात्रै त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटी, बाह्रबिसेको घुँडे, तथा चौतारा साँगाचोकगढी नगरपालिका–४ गोल्मा र वडा नं. १० साठीमुरेबाट ठूलो संख्यामा जिम्मेवार नेता तथा कार्यकर्ताहरू नेकपामा समाहित भएको उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले जानकारी दिएका छन्। नेकपा रोजेका नेता कार्यकर्तालाई त्रिपुराको चोकटी र चौतारमा सापकाेटाले स्वागत गरेका थिए । बाह्रबिसे नगरपालिका वडा नं. ८ को घुँडेबाट नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका २५ जनालाई भने पार्टीका केन्द्रीय सदस्यद्वय सरल सहयात्री पौडेल र निम्फुञ्जो शेर्पाले पार्टीमा स्वागत गरेका थिए ।

क्षेत्र नं. १ का सशक्त युवा उम्मेदवार सापकोटाले मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको छैटौं दिन त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटीदेखि घोर्थली हुँदै बाह्रबिसेको बगरसम्मका बस्तीहरूमा भएका भेटघाट, छलफल र अन्तरक्रियालाई महत्वपूर्ण र अर्थपूर्ण भएको बताएका छन्। स्थानीय आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा युवाहरूबाट प्राप्त सुझावहरूले आगामी कार्यदिशा स्पष्ट बनाएको उनको भनाइ छ।

“नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुभएकाहरुलाई हार्दिक स्वागत गर्दछु। तपाईंहरूको साथ, समर्थन र सक्रियताले हाम्रो अभियानलाई अझ सशक्त बनाएको छ,” सापकोटाले भनेका छन्। यसअघि यही क्षेत्रबाट निर्वाचित भई ३३ महिनामै विघटन भएको प्रतिनिधि सभामा सापकोटा सांसद रहिसकेका थिए। उनले विकास, सुशासन र समृद्धिको यात्रालाई निर्णायक मोडमा पुर्‍याउन फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गर्न सबैलाई आआफ्नो स्थानबाट सक्रिय हुन आह्वान गरेका छन्।

यता हरेक दिन नेकपा एमालेका नेता–कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि एमाले वृत्तमा भने असन्तुष्टि र हलचल बढेको बताइएको छ। नेकपा ‘तारा’ पार्टीमा भने अन्य दलबाट प्रवेशको लहर निरन्तर बढ्दै जाँदा जीतको आधार झन् मजबुत बन्दै गएको दाबी नेता कार्यकर्ताले गरेका छन् । यसअघि दुई दिन अघि बाह्रबिसेमा आयोजित युवा भेलामा ३ सय २३ जनाले एमाले, कांग्रेस लगायतका अन्य दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए। दुई साता यता मूलत: एमाले परित्याग गरि १५ सय बढि नेता कार्यकर्ता नेकपामा समाहित भएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया