

११ फागुन, सिन्धुपाल्चोक । फागुन लागेसँगै विस्तारै गर्मी बढिरहेको सिन्धुपाल्चोकमा २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोलले गाउँ बस्ती जेठ असारको मध्य दिनमा जसरी तताएको छ । दलहरु जनताका घर दैलोमा छन् । आक्कल झुक्कल देखिने र कतिपय कहिल्यै नदेखिएका नेताहरु दुई हात जोडेर मत माग्दै बस्ति बस्तिमा पुगिरहेका छन् ।
संघीय राजधानी काठमाडौंसँग जोडिएको, अरनिको राजमार्गले चीनसँग जोडेको र जुगल हिमालले टल्केको सिन्धुपाल्चोक काठमाडौंलाई पानी पिलाउने जिल्ला हो । यहाँको मेलम्ची नदिलाई सुरुङ मार्फत काठमाडौं लगेर पिउने पानीका रुपमा प्रयोग भइरहेको छ । जिल्लाको अर्को विशेषता चीनसँग जोडिएको काठमााडौंबाट सबैभन्दा नजिकको व्यापारिक तातोपानी नाका हो । जुगल हिमाल सधैँभरी अटल भएर उभिए कै छ । भोटेकोशी, ब्रम्हायणी र इन्द्रावती नदीबाट ठूलोमात्रामा विजुली निकालिएको सिन्धुपाल्चोक जिल्लामा चुनावी माहोल भने मध्य गर्मी जस्तै भएको छ । कुविण्डे, पिस्कर, भोटेनाम्लाङजस्ता ऐतिहासिक राजनीतिक स्थान रहेको जिल्लामा २०८२ साल फागुन २१ का लागि मत माग्न दलका र स्वतन्त्र उमेदवार घरआँगन सहित खेतबारीमा नेताहरु आइपुगेका छन् ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ र २ मा स्वतन्त्र सहित दुबैमा क्रशम १८-१८ जना उमेदवार छन्। स्थापित दलहरुले आफ्नो जनमत बलियो दावी गरिरहँदा परिणाका लागि फागुन २३ सम्म कुर्नै पर्ने हुन्छ ।
यसपटकको निर्वाचनमा सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताहरूले अन्य दललाई कडा दबाबमा राखेका छन्। ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको पक्षमा जनलहर बढ्दै गएको दाबी सो पार्टीले गरेको छ।
क्षेत्र नं. १ मा नेकपाका तर्फबाट प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’ चुनावी मैदानमा छन् । उनी अघिल्लो ३३ महिने अपुरो कार्यकालमा तातोपानी नाका खोलेको लगायतका कामहरु जानकारी गराउँदै समृद्धिको एजेन्डा, एकै दिनमा काठमाडौैबाट जुगल हिमाल पुग्ने, पाँच वर्षमा पाँच हजार रोजगारी लगायतका एजेण्डा लिएर मतदाता भेटघाट गरिरहेका छन् । सापकोटा दोस्रो कार्यकालका लागि संघिय संसद यात्रमा जाने निश्चित भएको नेकपाको आन्तरिक निश्कर्ष छ ।
एमालेका सरेश नेपाल र कांग्रेसका जंग तामाङ सापकोटाको पछि पछि देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी विद्रोहका बेला सत्तामा रहेका यी दलले युवामाथि गोलि हानेकोमा जनताले प्रश्न गरिरहेका छन् । अरुदलमा भएको असन्तुष्टिको फाइदा लिने योजनासहित रास्वापाका उमेदवार पूर्व एमाले नेता भरत पराजुलीले अँधेरीकाे घरमा रंग लगाएका छन् । अन्य दलले भोट तान्न बल गरिरहेपनि दर्नज मानिस सँगै उभिन सक्ने वातावरण बनेको देखिँदैन ।
क्षेत्र नं. २ मा नेकपाका अर्का जुझारु नेता युवराज दुलाल ‘शरद’ उम्मेदवार छन् । बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका उनको संगठनमा बलियो पकड देखिएको छ। बाकसभरी मत बाकसभरी विकास नारा दिएका उनी हेटौंडाको संसद भवनबाट सिंहदरबार यात्रामा छानिने पक्का जस्तै रहेको नेकपाको आन्तरिक निष्कर्ष छ । उनलाई एमालेका शेर बहादुर तामाङ र कांग्रेसका वंशलाल तामाङले पछ्याइरहेका छन् । क्षेत्र नं २ मा रास्वापा र अरुदलको घरदैलो समेत मुस्किलले मात्रै देखिन्छ ।
नेकपा जिल्ला निर्वाचन परिचालन कमिटिका सह-इन्चार्ज केशव नेपालका अनुसार दुवै क्षेत्रमा नेकपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा निकै अगाडि बढिसकेका छन्। उनले सिन्धुपाल्चोकमा जनताको आकर्षण नेकपा र ‘तारा’ चिन्हमा देखिएको र आफ्ना उम्मेदवारहरूले जनताका आधारभूत समस्या र जिल्लाको विकासका लागि स्पष्ट खाका प्रस्तुत गरेकाले जित सुनिश्चित रहेको जानकारी दिए ।

