

१३ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का ‘तारा’ चिन्हका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले मंगलबार भोटेकोशी गाउँपालिकाको लिस्तीमा मतदाता भेटघाट तथा सुझाव संकलन गरेका छन्। चुनावी अभियान लिएर लिस्ती पुग्दा स्थानीय गाउँ–बस्तीमा महत्त्वपूर्ण र आत्मीय छलफल भएको सापकोटाले जानकारी दिए।
लामो समयदेखि हिउँदे वर्षाको प्रतीक्षामा रहेका स्थानीयवासीले पानी र हिमपातसँगै उम्मेदवारसहितको टोली गाउँ आइपुग्नुलाई सुखद संयोग मानेका छन्। उनीहरूले यसलाई ‘जितको शुभ संकेत’ का रूपमा व्याख्या गरे। स्थानीयको यो उत्साह र सद्भावले आफू र सिंगो टोलीलाई थप ऊर्जा प्रदान गरेको उम्मेदवार सापकोटाले बताए।
भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलको कार्यकालमा लिस्तीमाई मन्दिर, छगाम–बगाम, चोकर–मोकर, भैरवकुण्ड तथा दुगुनागढी जाने बाटो विस्तारका कामहरू सुरु भएका थिए। सापकोटासँगै मत माग्न लिस्ती पुगेका पौडेलले ती अधुरा कामहरू पूरा गर्न युवा नेता माधव सापकोटा सक्षम रहेको बताउँदै ‘तारा’ चिन्हमा मतदान गर्न स्थानीयलाई अपिल गरे।
नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार ‘सुबोध’ले विशेषगरी युवा पुस्तामाझ लोकप्रिय भैरवकुण्ड ट्रेकिङ मार्गको प्रवर्द्धनमा आफ्नो स्पष्ट प्रतिबद्धता जाहेर गरेका छन्। उनले फागुन ३ गते सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा जुगल हिमाल, सुकुटे, तातोपानी र भैरवकुण्ड लगायतका स्थानलाई पर्यटकीय ‘हब’ बनाउने योजना उल्लेख गरेका छन्।
उम्मेदवार सापकोटाले लिस्तीबासीको माया, विश्वास र हौसलाले आफ्नो विजय यात्रा सुनिश्चित हुँदै गएको अनुभूति भएको बताए। उनले फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन र अन्य मतदातालाई समेत यस अभियानमा सहभागी गराउन अपिल गरेका छन्।

