

१६ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-२ का प्रभावशाली युवा नेता एवं पूर्व कार्यपालिका सदस्य शरद वि.क. नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।
लामो समयदेखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा सक्रिय वि.क.लाई आज जलविरेमा आयोजित चुनावी अभियानका क्रममा युवा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। वि.क.को पार्टी प्रवेशले सिंगो फुल्पिङकोट क्षेत्रमा पार्टीलाई ठूलो बल पुगेको भन्दै सापकोटाले शरदको आगमनले चुनावी अभियानमा थप ऊर्जा मिलेको भन्दै उनको योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिवद्दता जनाए।”
मतदाता भेटघाटमा व्यस्त सापकोटा
आजै उम्मेदवार सापकोटाले नेकपाको बलियो आधार क्षेत्रका रूपमा परिचित जुगल गाउँपालिका र बलेफीका विभिन्न क्षेत्रमा चुनावी घरदैलो तथा सुझाव संकलन अभियानलाई तीव्रता दिएका छन्। उनले जुगलको ढाँडे, याङलाकोट, खानीडाँडा, विसिंखर तथा बलेफीको सिम्ले र जलविरे क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरे ।
स्थानीय बासिन्दाले सापकोटालाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका छन्। उनीहरुले युवा नेतृत्व सुबोधलाई जिताएर पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उमेदवार सापकोटाले आफूले शीर उँचो हुने गरी काम गरेको जानकारी दिँदै अब पनि जनताका मुद्दा सशक्त रुपमा उठाउने बताए । उनले फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी नेकपालाई विजयी गराउन अपील समेत गरेका छन्।

