चुनावी अभियानमा सुबोधसँग जोडिँदै जनमानस: भन्छन्– ‘फागुन २१ मा तारा जित्नेछ, हामी जित्नेछौँ’

सिन्धुपाल्चोकमा चुनावी सरगर्मी बढेसँगै युवा उम्मेदवार माधव सापकोटा 'सुबोध' को पक्षमा जनलहर देखिन थालेको छ।

१७ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चुनावी सरगर्मी बढेसँगै युवा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ को पक्षमा जनलहर देखिन थालेको छ। यसै क्रममा बलेफी गाउँपालिका-२ का प्रभावशाली युवा नेता एवं पूर्व कार्यपालिका सदस्य शरद वि.क. नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। यसअघि हिजो मात्रै जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकोटका नेकपा एमालेका नेता निरज तामाङ पनि सुबोधको नेतृत्वलाई साथ दिँदै पार्टीमा समाहित भएका थिए।

पार्टी प्रवेशले थपियो ऊर्जा

लामो समयदेखि कांग्रेसमा क्रियाशील वि.क.लाई जलविरेमा आयोजित चुनावी अभियानका क्रममा उम्मेदवार सापकोटाले टिका र खादा लगाएर भव्य स्वागत गरे। शरदको आगमनले सिंगो फुल्पिङकोट क्षेत्रमा पार्टीलाई ठूलो बल पुगेको सापकोटाको भनाइ छ। उनले वि.क.को योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत जनाए। निरज भने सापकोटाको निवासमै पुगेर जिताउने अभियानमा समाहित भएका हुन् ।

मतदाता भेटघाटमा व्यस्त सापकोटा

नेकपाको बलियो आधार क्षेत्र मानिने जुगल र बलेफीका विभिन्न वस्तीहरूमा सापकोटाले घरदैलो तथा सुझाव संकलन अभियानलाई तीव्रता दिएका छन्। हिजो उनले जुगल गाउँपालिका: ढाँडे, याङ्लाकोट, खानीडाँडा, र विसिंखर। बलेफी गाउँपालिका: सिम्ले र जलविरे क्षेत्रमा घरदैलो गरे । स्थानीय बासिन्दाले ‘सुबोध’ लाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका छन्। युवा नेतृत्वले नै गाउँको मुहार फेर्ने विश्वास व्यक्त गर्दै उनीहरूले यसपटक सुबोधलाई जिताएर पठाउने दृढता व्यक्त गरे। जलविरेमा युवाले सुबोध दाइ हाइ हाइको नारासहित स्वागत गरेका थिए ।

“मैले सधैं जनताको शीर उँचो हुने गरी काम गरेको छु। आगामी दिनमा पनि तपाईँका मुद्दाहरूलाई सदनमा सशक्त रूपमा उठाउनेछु। फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गरी विजयी बनाउनुहुन म विनम्र अपिल गर्दछु” – ‘सुबोध’ले मतदातालाई भनेका छन् ।

“हामी जित्दै छौँ”

दिनभरको घरदैलो अभियानपछि उत्साहपूर्ण प्रतिक्रिया दिँदै सापकोटाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले भने: “बिहान सिम्ले र ढाँडे बजार हुँदै जुगलका विभिन्न गाउँमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग आत्मीय साक्षात्कार भयो। साँझ ‘तारामय’ बनेको जलविरे बजारको छलफलले थप उत्साह थपेको छ। बाँदर नियन्त्रण जस्ता स्थानीय समस्यादेखि कानुन निर्माणसम्मका तपाईँका सुझाव मेरा लागि मार्गदर्शक बन्नेछन्। फागुन २१ मा तारा जित्नेछ, हामी जित्नेछौँ!”

आज बाह्रविसे सुकुटे

नेकपाले आज बाह्रविसेको खुर्सानीबारीदेखि सुकुटेसम्म घरदैलो गर्ने भएको छ । उमेदवार सापकोटाले अभियान अन्तरगत आज बाह्रविसे लामोसाँघू खाडिचौर कोठे बलेफीहुँदै सुकुटे पुग्ने कार्यतालिका सुनाए ।

प्रतिक्रिया