

१८ फागुन, बाह्रविसे । सिन्धुपाल्चोक क्षेत्र नं १ का तारा चिन्हका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले चुनावी मैदानमा आफ्नो स्थिति बलियो रहेको बताएका छन्।
४४ वर्षिय सापकोटाले फागुन १७ गते बाह्रविसेदेखि सुकुटेसम्मको बजार क्षेत्रमा सडक नै रातो हुने गरी गरिएको घरदैलो र जनलहरपछि यस्तो बताएका हुन् । उनले आफू स्पष्ट रूपमा अघि रहेको जनलहरले पुष्टि गरेको बताएका छन्।
हिजो बाह्रविसेको खुर्सानीबारीदेखि सुकुटेसम्म मतदाता भेटेर शुभेच्छा र सुझाव संकलन गरेका उनको पक्षमा देखिएको यो उत्साहले अघिल्लो ३३ महिने कार्यकाललाई जनताले नजिकबाट नियालेको स्पष्ट पारेको नेकपाको विष्लेषण छ।
विगतको ३३ महिने कार्यकालमा उनले संसदमा जिल्ला र राष्ट्रिय सरोकारका मुद्दामा सशक्त हस्तक्षेप गरेका थिए, सो विषयलाई जनताले अनुमोदन गरेको उनको ठम्याई छ। उनले चीनसँगको व्यापारिक तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गराउन, दशकौंदेखि रोकिएको जुरे पहिरो प्रभावितको रकम वितरण गराउन र अरनिको राजमार्ग स्तरोन्नतिका लागि तीन अर्ब बढी बजेट सुनिश्चित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। यस्तै, जुगल हिमाल आरोहण खुला गराउने, विकट गुम्बा गाउँमा पहिलोपटक बिजुली पुऱ्याउने र सुकुटेलाई पर्यटकीय नगर घोषणा गराउने काम उनकै पहलमा सम्भव भएका थिए।
सापकोटाले यसपटक ‘मतदाता भेटघाट तथा सुझाव संकलन’ अभियानका क्रममा स्थानीय स्तरका समस्यादेखि ठूला नीतिगत सुधारका सुझावहरू संकलन गरेका छन्। किसानहरूले बालीनाली नष्ट गर्ने वन्यजन्तुको समस्या, मल र बीउको अभावका कुरा उठाएका छन् भने युवाहरूले रोजगारी र प्रविधिमैत्री शिक्षाको अपेक्षा गरेका छन्।
उनले आफ्नो प्रतिबद्धता पत्रमा पाँच वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने र काठमाडौंबाट एकै दिनमा जुगल बेसक्याम्प पुग्ने भौतिक पूर्वाधार निर्माण गर्ने ठोस योजना अघि सारेका छन्। साथै, शिक्षामा आमूल परिवर्तनका लागि प्रत्येक पालिकामा नमूना विद्यालय र शिक्षकहरूका लागि निजामती सरहको सेवा सुविधा सुनिश्चित गर्ने उनको संकल्प छ।
राजनीतिक परिस्थितिका कारण अघिल्लो कार्यकाल अधुरो रहे पनि जनतामा आफूप्रति सहानुभूति र भरोसाको महसुस गरेको सापकोटाले बताएका छन्। अन्य पार्टीका मतदाताले समेत उनलाई देशले खोजेको युवा भन्दै समर्थन जनाएको र सिंगो पार्टी पंक्ति एकताबद्ध रहेको उनले बताएका छन्। सापकोटाले आफूलाई दलको घेराभन्दा माथि उठेर साझा प्रतिनिधिको रूपमा हेरिदिन र बिना पक्षपात सबैको सेवामा समर्पित हुने वाचा गर्दै सिन्धुबासीको आवाजलाई संसदमा कहिल्यै कमजोर हुन नदिने अठोट व्यक्त गरेका छन्।

