साझा प्रतिनिधिको रूपमा काम गर्नेछु, ५ वर्षमा ५ हजार युवा लक्षित रोजगारी: माधव सापकोटा

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटाले आफू निर्वाचित भएपछि कुनै निश्चित दलको घेरामा सीमित नभई सम्पूर्ण जिल्लाबासीको साझा प्रतिनिधिको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१८ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटाले आफू निर्वाचित भएपछि कुनै निश्चित दलको घेरामा सीमित नभई सम्पूर्ण जिल्लाबासीको साझा प्रतिनिधिको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विहान रेडियो सिन्बोधुसँगको कुराकानीमा सापकोटाले विगतमा पनि आफूले भोट दिने र नदिने सबैको साझा प्रतिनिधि भएर काम गरेको स्मरण गराए । उनले संसदसम्म जिल्लाका स्थानीय सवालहरूलाई सशक्त ढंगले उठाएको जानकारी दिँदै आगामी दिनमा अझ बढी मेहनत गर्ने बताए । विशेष गरी “डिजिटल सिन्धुपाल्चोक” को अवधारणा र जिल्लाको पुरानो गुठी समस्याको स्थायी समाधानलाई यसपटकको मुख्य चुनावी एजेन्डा बनाएको उनको भनाई छ।

चुनावी अभियानका क्रममा बाह्रविसेदेखि सुकेटेसम्म पुग्दा मतदाताहरूले आफूलाई “हुनेवाला सांसद” को रूपमा सम्बोधन गरेको भन्दै सापकोटाले जितप्रति उत्साह व्यक्त गरे । उनले मुख्य प्रतिस्पर्धीहरूमध्ये आफू सबैभन्दा कान्छो उमेरको रहेको र १३ वर्षको उमेरदेखि नै राजनीतिमा होमिएको उल्लेख गर्दै संसदमा ३३ महिना खेलेको भूमिका र जनताको घरदैलोमा पुगेको अनुभव नै आफ्नो मुख्य पुँजी भएको बताए । सापकोटाले अघिल्लो निर्वाचनमा तातोपानी नाका सञ्चालनलाई प्राथमिकता दिएकोमा यसपटक ५ वर्षमा ५ हजार युवालाई सीप र रोजगारी दिने ठोस योजना अघि सारेका छन् । उनले स्वतन्त्र मतदाताहरूलाई आफूलाई उपयोग गर्न र योग्य एवं सक्षम उम्मेदवार छनोट गर्न अपिल गर्दै भने, “तपाईंले मत दिँदा विचार पुर्‍याउनु भएन भने ५ वर्ष खेर जान्छ, त्यसैले खबरदारीसहित मतदान गर्नुहोस्।”

सापकोटाले आफूलाई भेट्न कुनै मध्यस्थकर्ता वा अरूको सहारा नचाहिने र आफू सधैँ जनताका लागि सहज रूपमा उपलब्ध हुने स्पष्ट गरे । उनले खोज, अनुसन्धान र अध्ययनका आधारमा मात्र पहुँच वृद्धि गर्न सकिने र सोही अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सिन्धुपाल्चोकको आवाज बुलन्द पार्ने विश्वास दिलाए ।

चुनावी माहोल विजय र्‍याली जस्तो देखिए पनि मतदाताहरूलाई नमात्तिन र नआत्तिन आग्रह गर्दै उनले एक-एक मत सुरक्षित गर्न अनुरोध गरे । आफू विजेता हुँदा वा नहुँदा सधैँ जनताकै साथमा रहने प्रण गर्दै सापकोटाले सिन्धुपाल्चोक-१ बाट आफूलाई प्रतिनिधि बनाउँदा मतदाताको शिर उँचो हुने गरी काम गर्ने र “भोट सदुपयोग गरिएछ” भन्ने गौरवको अनुभूति गराउने उनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया