अरुले पक्षपात गरिरहँदा सबैको घरमा पुगेर मत माग्ने सापकोटा सिन्धु १ का मतदाताको रोजाइमा

प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू गाउँ-बस्ती पुगेर दलीय एजेन्डा र आफ्ना योजनासहित मतदाता आकर्षित गर्ने अन्तिम कसरतमा छन्।

१८ फागुन, सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू गाउँ-बस्ती पुगेर दलीय एजेन्डा र आफ्ना योजनासहित मतदाता आकर्षित गर्ने अन्तिम कसरतमा छन्।

यसै सन्दर्भमा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा उम्मेदवारहरूले मौन अवधि सुरु हुनुअघिसम्म चुनावी प्रचारप्रसार र घरदैलोलाई तीव्र पारेका छन्। यस क्रममा केही रोचक र मतदाताको मन छुने प्रसङ्गहरू पनि देखिएका छन्।

सिन्धुपाल्चोक १ मा १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा १५ जना दलका र ३ जना स्वतन्त्र उम्मेदवार छन्। यीमध्ये मुख्य प्रतिस्पर्धा र चर्चामा चार जना उम्मेदवार देखिएका छन्।

चर्चाको अग्रस्थानमा यस क्षेत्रका पूर्वसांसद समेत रहेका माधव सापकोटा ‘सुबोध’ छन्। ‘तारा’ चुनाव चिह्न रहेको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सापकोटा मुख्य प्रतिस्पर्धीमध्ये सबैभन्दा कान्छा अर्थात् ४४ वर्षीय युवा उम्मेदवार हुन्। यसअघि छोटो अवधि करिब ३३ महिना सांसदका रूपमा काम गरिसकेका उनी यस क्षेत्रमा सशक्त उम्मेदवारका रूपमा स्थापित देखिन्छन्।

उनले फागुन ४ देखि १८ गतेसम्मको अवधिमा हरेक मतदाताको घर-दैलोमा पुगेर मत मागेका छन्। चुनावी अभियानका क्रममा उनी १७ गते बाह्रबिसे नगरपालिकाको पलाँतीस्थित पूर्वमन्त्री एवं कांग्रेस नेता मोहन बहादुर बस्नेतको निवासमा समेत पुगेर मत मागेका थिए। १७ गते पनि उनी बाक्लो बजार बाह्रबिसेदेखि सुकुटेसम्मको बजार क्षेत्रमा उनी हरेक घरभित्रै छिरेर मतदातासँग संवाद गरिरहेका भेटिए।

विपक्षी दलका नेता-कार्यकर्ताको घरमा समेत पुगेर सुझाव, प्रतिक्रिया र शुभेच्छा लिएका उनले कसैलाई पक्षपात नगरी ‘साझा जनप्रतिनिधि’ का रूपमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले अन्य दलमा आबद्ध मतदाताहरूलाई समेत “समानुपातिक मत आफ्नै दललाई दिए पनि व्यक्तिगत मत आफूलाई दिएर स्थानीय आवाज संसद्मा पुर्‍याउन सहयोग गर्न” आग्रह गरेका थिए ।  सापकोटाको यो सक्रियता विपरीत अन्य उम्मेदवारको मत माग्ने शैली भने फरक देखिएको छ। कतिपय उम्मेदवार आफ्ना कार्यकर्ताका घरमा मात्र पुग्ने वा बाटोबाटै हात हल्लाएर हिँड्ने गरेको देख्दा मतदाताहरू चकित परेका छन्। हालसम्म कसलाई मत दिने भन्ने निर्णय गरिनसकेका न्युट्रल मतदाताहरूले घरमै आएर कुरा सुन्ने र मत माग्ने सापकोटाको शैलीलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका-९ की एक मतदाता भन्छिन्, “मत माग्दा समेत पक्षपात गरी आफ्ना कार्यकर्ता मात्र खोज्दै हिँड्ने उम्मेदवारलाई भोट दिन सकिँदैन। युवा, फरासिला र घरमै आएर आत्मीय संवाद गर्ने सुबोधले मन जितेका छन्।”

यस्तै अनुभव बलेफी, खाडीचौर र बाह्रबिसेवासीको पनि छ। स्वतन्त्र वा तटस्थ मतदाताहरूका अनुसार ‘घण्टी’ चुनाव चिह्न भएका उम्मेदवार बाटोबाटै हात हल्लाएर हिँड्ने गरेको, ‘सूर्य’ चिह्नका उम्मेदवार आफ्ना चिनिएका कार्यकर्ताको घरमा मात्रै जाने गरेको र ‘रुख’ चिह्नका उम्मेदवार बाटो-बाटो मात्र हिँड्ने गरेको सुनिएको छ।

बलेफी बजारकी एक महिला व्यवसायीले भनिन्, ‘मत माग्नै पक्षपात गर्नेले जितेपछि कति पक्षपात गर्लान्? काम पर्दा तिनलाई कसरी भेट्ने? त्यसैले घरमै आएर कुरा सुन्ने मिजासिला युवा सुबोधलाई नै ‘तारा’ चिह्नमा भोट हाल्ने निधो गरेका छौँ।’

प्रतिक्रिया