सिन्धुपाल्चोक-१ मा चुनावी सरगर्मी: एमाले र कांग्रेसका सयौँ नेता कार्यकर्ता नेकपा ‘तारा’मा प्रवेश

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ।

१८ फागुन, सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। बिहीबार क्षेत्र नं १ अन्तर्गतका बलेफी, बाह्रविसे, सुनकोशी र चौताराका विभिन्न वडाबाट नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू ‘तारा’ चिह्न लिएर चुनावी मैदानमा होमिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

क्षेत्र नं १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई विजयी गराउन भन्दै विशेषगरी बलेफी-७ र सुनकोशी-७ का ‘जेन्जी’ (युवा पुस्ता) हरू उत्साहका साथ पार्टीमा समाहित भएका हुन्। युवाहरूले लोकप्रिय र प्रखर वक्ताका रूपमा चिनिएका सापकोटालाई संसदमा पठाउन आफूहरू स्वस्फूर्त रूपमा नेकपामा प्रवेश गरेको बताएका छन्। सुनकोशी इन्चार्ज मिम बहादुर योञ्जनले नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उनीहरूको राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डे र गोल्मा क्षेत्रमा पनि एमाले-कांग्रेसलाई ठूलो झड्का लागेको छ। ती क्षेत्रका अधिकांश सक्रिय कार्यकर्ताहरूले युवा नेतृत्वको आवश्यकता औँल्याउँदै नेकपा रोजेका हुन्।

बाह्रविसे नगरपालिकामा पनि सोमबार मात्रै एमालेका दर्जनौँ नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। बाह्रविसेका संस्थापक मेयर एवं नेकपाका केन्द्रीय सदस्य निमफुन्जो शेर्पाको विशेष सक्रियतामा बाह्रविसेका विभिन्न वडाबाट उल्लेख्य संख्यामा कार्यकर्ताहरू तारा चिह्नमा गोलबद्ध भएका हुन्।

पार्टीका अनुसार फागुन ४ गतेदेखि सुरु भएको प्रचार अभियानको अन्तिम दिन फागुन १८ सम्म आइपुग्दा सिन्धुपाल्चोक क्षेत्र नं १ मा मात्रै एमाले, कांग्रेस र रास्वपा लगायतका दल त्यागेर १५ सयभन्दा बढी नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।

चुनावी प्रचारको अन्तिम समयमा भएको यो व्यापक ध्रुवीकरणले क्षेत्र नं १ मा ‘तारा’ चिह्नका उम्मेदवार सुबोधको पक्षमा माहोल थप बलियो बनेको र जित निश्चित भएको छ।

प्रतिक्रिया