चुनावमा पराजित भए तर पनि विजेताभन्दा अघि मतदाता भेट्न गए सापकोटा

चुनावमा हार बेहोरे पनि सापकोटाले जनताको घरदैलोमा जाने आफ्नो पुरानो कार्यशैलीबाट भने रोकिएनन्।  चुनावी परिणाम सार्वजनिक भएलगत्तै उनले निर्वाचन क्षेत्रका आठवटै स्थानीय तहमा पुगेर मतदाता, नेता तथा कार्यकर्तासँग भेटघाट र धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेका छन् ।

६ चैत, सिन्धुपाल्चोक । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट यसअघि जनप्रतिनिधि बनेका माधव सापकोटा ‘सुबोध’ यसपटक संसद यात्राबाट रोकिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुली विजयी हुँदा नेपाली कम्युनिष्ट पार्टीका सापकोटाले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो ।

चुनावमा हार बेहोरे पनि सापकोटाले जनताको घरदैलोमा जाने आफ्नो पुरानो कार्यशैलीबाट भने रोकिएनन्।  चुनावी परिणाम सार्वजनिक भएलगत्तै उनले निर्वाचन क्षेत्रका आठवटै स्थानीय तहमा पुगेर मतदाता, नेता तथा कार्यकर्तासँग भेटघाट र धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेका छन् । निर्वाचनको दौरान भेटघाट तथा सुझाव संकलन अभियान चलाएका उनले चुनावपछिको यस अभियानलाई ‘आभार तथा धन्यवाद कार्यक्रम’ नाम दिएका थिए ।

सापकोटाले चैत २ गते बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाका मतदाता तथा कार्यकर्तालाई भेटेर धन्यवाद दिएका थिए । यस्तै, चैत ३ गते बलेफी र चौतारा साँगाचोकगढी नगरपालिकामा भेटघाट गरेका उनले चैत ४ गते जुगल गाउँपालिका र चैत ५ गते लिसंखुपाखार गाउँपालिका पुगेर कार्यक्रम समापन गरे ।

भूगोलका सबै भेटघाट सम्पन्न गरेपछि सापकोटाले भने, “आम जनताले उम्मेदवार पो चिन्तामा छन् कि भनेर चासो राखेको पाएँ । चुनाव हारेपछि यसअघि कोही पनि यसरी मतदाता भेट्न र धन्यवाद दिन नगएका कारण हामीलाई देख्दा धेरैले आश्चर्यसमेत प्रकट गर्नुभयो ।”

भेटका क्रममा धेरै मतदाताले हार व्यहोरेर पनि विजेताभन्दा अघि गाउँ आएकोमा खुसी व्यक्त गरेको सापकोटाले बताए । “जितेकाहरू अझै आइपुगेका छैनन्, तपाईं हारेर पनि धन्यवाद भन्न आउनुभयो भन्दै जनताले देखाएको सामिप्यताले नयाँ ऊर्जा पैदा गरेको छ,” उनले सुनाए ।

यस क्षेत्रमा २०६४, २०७०, २०७४ र २०७९ सम्म लगातार जित्दै आएको माओवादी धारले यसपटक पहिलो पटक पराजय भोग्नुपरेको हो । तर, हारपछि पनि घरदैलोमा पुग्दा जनताको माया र सद्भाव अझ बढी प्राप्त भएको सापकोटाको अनुभव छ । उनले थपे, “राजनीतिमा हारजित स्वाभाविक हो, तर जनताको यति धेरै माया र निरन्तरको हौसला पाउँदा खुसी लागेको छ ।”

भेटघाटका क्रममा सापकोटाले आफू पदमा रहे पनि नरहे पनि सधैँ जनताकै बीचमा रहने र जिल्लाको विकास एवं समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । मतदाताले भने यस पटक जनप्रतिनिधि बनाउन नसकेपनि सुख-दुःखमा साथ दिने नेता पाएकोमा खुसी व्यक्त गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्र नं. १ ले जिल्लाका सबै पालिकामा धन्यवाद ज्ञापन कार्यक्रम सकेको जनाएको छ । चैत ७ गते शनिबार काठमाडौँमा रहेका मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । शनिबार बिहान ११ बजे पेप्सीकोलास्थित ‘न्यू त्रिशक्ति पार्टी प्यालेस’ मा काठमाडौँवासी मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरिएको सापकोटाले जानकारी दिए । अभियानले युवा नेता सापकोटाप्रति आम जनताको आत्मीयता र विश्वास थप बढाएको देखिएको छ ।

प्रतिक्रिया