प्रतिनिधिसभामा १७९ पुरुष, ९६ महिला उम्मेदवार निर्वाचित, खसआर्य समूहतर्फ ४९.०९ प्रतिशत

निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।

६ चैत, काठमाडौँ। निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् । प्रतिवेदनमा निर्वाचन परिणामसहितको विस्तृत विवरण समावेश छ ।

समारोहमा राष्ट्रपति पौडेलले कठिन तथा जटिल परिस्थितिमा पनि निर्वाचन आयोग, कर्मचारी तथा सम्बद्ध सबै पक्षले अहोरात्र खटिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताउँदै यसले लोकतन्त्रलाई थप मजबुत बनाएको र नागरिकको विश्वास बढाएको अनुभूति भएको उल्लेख गरे ।

“फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, यसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले भने । उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सबै पक्षलाई धन्यवाद दिएका छन् ।

प्रतिवेदनअनुसार २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए । प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेकोमा ९४.५५ प्रतिशत मत सदर भएको थियो भने समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा ९६.०५ प्रतिशत सदर भएको आयोगले जनाएको छ ।

प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८, नेकपा (एमाले) ले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ तथा अन्य स्वतन्त्र तथा साना दल/उम्मेदवारले बाँकी सिट प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ तथा अन्य दलले बाँकी सिट प्राप्त गरेका छन् । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ ।

निर्वाचनमा ६७ राजनीतिक दल सहभागी थिए भने कुल ३४०६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । पहिलो पटक यति ठूलो स्तरमा नयाँ पार्टीको उदय भएको यो निर्वाचनलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिवेदन पेस भएसँगै सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दललाई सरकार गठनको आह्वान गर्नेछन् । यो निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको छ, यसमा युवा तथा नयाँ पुस्ताको सहभागिता र परिवर्तनको आकांक्षा स्पष्ट रूपमा देखिएको छ ।

प्रतिक्रिया