

६ चैत्र, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । त्यसपछि चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हल (मल्टिपर्पस हल) मा नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएकाले अस्थायी रूपमा बहुउद्देश्यीय हल प्रयोग गरिने भएको हो ।
शपथ ग्रहण कार्यक्रममा जेष्ठ सदस्य (सबैभन्दा बढी उमेरका सांसद) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने परम्परा अनुसार सुरु हुनेछ । त्यसपछि उनीले बाँकी सांसदहरूलाई शपथ दिलाउने छन् । संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि यो मिति टुंगो लागेको बताएका छन् ।
शपथ ग्रहणपछि प्रतिनिधिसभाको पहिलो बैठक चाँडै बस्ने तयारी छ । तर, सरकार गठन प्रक्रिया भने शपथअघि नै अगाडि बढिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ करिब ५७ सिट जित्दै कुल १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ । यसले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ ।
रास्वपा स्रोतका अनुसार चैत १३ गते बिहान प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन वा छिट्टै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूको पनि शपथ हुने अपेक्षा गरिएको छ । पार्टीले चुस्त र सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना बनाएको छ । उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ ।
निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको थियो । संविधानको धारा ७६ अनुसार बहुमत प्राप्त दललाई सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गर्नेछन् । रास्वपाले बहुमत प्राप्त गरेकोले एकल बहुमतको सरकार बन्ने निश्चित छ ।

