

निरन्तरताको संस्कार: २०७९ मा निर्वाचित र हालैको चुनावमा उपविजेता बनेका माधव सापकोटाले चुनाव हारेर पनि मतदातालाई धन्यवाद दिन घरदैलो अभियान चलाएर नयाँ राजनीतिक संस्कार स्थापित गरेका छन्।
जनताकै बीचमा रहने प्रतिबद्धता: संसद् यात्रा रोकिए पनि लोगो र पदबिना नै विकासका काम, जनसरोकारका मुद्दा र विगतका योजनाहरू सम्पन्न गर्न आफू निरन्तर लागिरहने उनले अठोट व्यक्त गरेका छन्।
विकासको चुनौती: अघिल्लो ३३ महिने कार्यकालमा ७ अर्बभन्दा बढी बजेट ल्याएको स्मरण गर्दै उनले नवनिर्वाचित सांसदलाई सोही स्तरको विकास गरेर देखाउन चुनौतीपूर्ण आग्रह गरेका छन्।
मतदाताको उत्साहजनक साथ: बाह्रबिसेदेखि लिसंखुपाखारसम्मका मतदाताले “जितेकाहरू अझै नआउँदा हारेका नेता धन्यवाद भन्न आएको” भन्दै सापकोटाको सक्रियतालाई विजय उत्सव जत्तिकै उत्साहका साथ स्वागत गरेका छन्।
जिम्मेवारीबोधको नयाँ मानक: सिन्धुपाल्चोक-१ मा माओवादी धारको पहिलो पराजय भए तापनि सापकोटाले हारपछि विरक्त नभई जनताको सुख-दुःखमा साथ दिने जिम्मेवारीबोधको नयाँ मानक खडा गरेका छन्।
८ चैत, सिन्धुपाल्चोक । एउटा प्रसिद्ध भनाइ छ ‘नतिजा नआए पनि काम जारी राख, राम्रो नतिजा आए पनि जारी राख, खराब नतिजा आए पनि जारी राख; निरन्तरता नै सफलताको साँचो हो कहिल्यै हार नमान।’
यसै भनाइलाई पछ्याउँदै सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटाले निर्वाचन क्षेत्रका मतदाताको सम्मान र सदावहार जनपक्षीय राजनीतिमा एउटा उदाहरणीय संस्कार स्थापित गरेका छन्। २०७९ को निर्वाचनमा क्षेत्र नं १ बाट जनप्रतिनिधि चुनिएका सापकोटा गत फागुन २१ को चुनावमा उपविजेता हुन पुगेपछि उनको संसद यात्रा त रोकियो, तर जनताको घरदैलोमा जाने निरन्तरतामा भने कुनै कमी आएन। चुनावमा आफ्नो पक्षमा नतिजा नआए पनि सापकोटाले तत्कालै निर्वाचन क्षेत्रका सबै पालिका र काठमाडौँमा रहेका मतदाता, शुभचिन्तक एवं समर्थकहरूलाई भेटेर आभार तथा धन्यवाद दिए ।
सबैजसो भेटघाटका क्रममा उनले अब आफू बरु अझ धेरै समय जनताको घरदैलोमै बिताउने प्रतिबद्धता जनाएका छन्। लोगो लगाएर संसद जाने बाहेकका विकासका सबै काम, जनताका मुद्दा सुन्ने, सामाजिक सञ्जाल लगायतका सबै माध्यमबाट समस्या उठान गर्ने र विगतमा थालिएका योजनाहरू सम्पन्न गर्न आफू निरन्तर लागिरहने उनले बताए।
शनिबार काठमाडौँमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सापकोटाले आफ्नो अघिल्लो ३३ महिने कार्यकालमा ७ अर्बभन्दा बढी बजेट ल्याएर विकासका क्रियाकलाप सुरु गरिएको स्मरण गर्दै आगामी पाँच वर्षमा त्यति नै वा सोभन्दा बढी बजेट ल्याएर देखाउन नवनिर्वाचित सांसदलाई चुनौती समेत दिए। उक्त कार्यक्रममा निर्वाचन इन्चार्ज केशव नेपाल, बागमती प्रदेश सभा सदस्यहरू सरल सहयात्री र अमृता नेपाल, नेता निमफुन्जो शेर्पा तथा टी.एन. सापकोटा लगायतको उपस्थिति थियो । सापकोटाले आफू पदमा रहे पनि नरहे पनि निरन्तर जनताकै माझमा रहने अठोट व्यक्त गरे। सापकोटा अघिल्लो संसदमा सिन्धुपाल्चोकको विषयसहित समसामयिक राष्ट्रिय मुद्दा उठाएर स्थापित एवं सक्रिय मध्येका सांसदका रुपमा छवि निर्माण गरेका युवा हुन् ।
सापकोटाको निर्वाचन परिणाम पछिको धन्यवाद ज्ञापन अभियान चैत २ गतेयता तीव्रताका साथ अघि बढेको थियो। उनले चैत २ गते बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाका मतदाता तथा कार्यकर्तालाई भेटेका थिए। त्यसैगरी चैत ३ गते बलेफी र चौतारा साँगाचोकगढी नगरपालिकामा भेटघाट सकेर उनी चैत ४ गते जुगल गाउँपालिका र चैत ५ गते लिसंखुपाखार गाउँपालिका पुगेका थिए। सोहि कार्यक्रमको निरन्तरता स्वरुप अन्तरगत शनिवार काठमाडौंमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको थियो ।
सबै भेटघाट तथा धन्यवादका पहिलो चरणका काम सम्पन्न गरेपछि सापकोटाले आम जनताले उम्मेदवार चिन्तामा छन् कि भनेर आम मानिसले चासो राखेको पाएको बताए । आफूहरूलाई धन्यवाद दिन आएको देखेपछि मतदातामा खुसी छाएको प्रतिक्रिया सापकोटाले दिए। धेरै मतदाताले हार व्यहोरेर पनि विजेताभन्दा अघि गाउँ आएकोमा खुसी व्यक्त गर्दै “जितेकाहरू अझै आइपुगेका छैनन्, तपाईं हारेर पनि धन्यवाद भन्न आउनुभयो” भन्दै देखाएको सामिप्यताले आफूमा नयाँ ऊर्जा पैदा गरेको सापकोटाले सुनाए।
सिन्धुपाल्चोक १ मा २०६४ देखि लगातार जित्दै आएको माओवादी धारले यसपटक पहिलो पटक पराजय भोग्नुपरेको हो। सापकोटाले राजनीतिमा हारजितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै जनताको माया र हौसलाले आफूलाई अझ जिम्मेवार बनाएको बताए। आफू सधैँ जिल्लाको विकास एवं समृद्धिका लागि लागिरहने उनको प्रतिबद्धता छ। मतदाताले पनि यसपटक जनप्रतिनिधि बनाउन नसके पनि आफ्नो सुख–दुःखमा साथ दिने वास्तविक नेता पाएको भन्दै खुसी व्यक्त गरेको सापकोटाले जानकारी दिए । उनको चुनावपछिको धन्यवाद कार्यक्रम विजय उत्सव जत्तिकै उत्साहजनक देखिएको कतिपयको प्रतिक्रिया छ । सापकोटाले राजनीतिमा हारपछि विरक्त होइन, बरु जिम्मेवारीबोधको नयाँ मानक खडा गरेका छन् ।

