

सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी-४, कुविण्डेमा १० करोडको लागतमा निर्मित शीत भण्डार चैत पहिलो सातादेखि पूर्ण सञ्चालनमा आएको छ।
यस शीत भण्डारमा हाल स्थानीय किसानहरूले करिब ३ हजार बोरा आलु सुरक्षित रूपमा भण्डारण गरेका छन्।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाले किसानको उत्पादन संरक्षण र आम्दानी वृद्धि गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएर यो परियोजना सफल बनाएको बताएका छन्।
उचित मूल्य नआउँदासम्म आलु भण्डारण गर्न र बीउ जोगाउन सजिलो भएपछि बजार नपाएर मर्कामा परेका किसानहरूलाई ठूलो राहत मिलेको छ।
यो सुविधाबाट चौताराका साथै छिमेकी बलेफी र जुगल गाउँपालिकाका किसानहरू समेत लाभान्वित हुने र जिल्लाको कृषि अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ।
……………………………………………………………………………………………………………………………………………………………………………………………..
१० चैत, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोगढी नगरपालिका वडा नं. ४ कुविण्डेमा निर्माण सम्पन्न भएको शीत भण्डार (कोल्ड स्टोर) चैत पहिलो सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा करिब १० करोड रुपैयाँको लगानीमा निर्माण भएको यस शीत भण्डारमा हाल स्थानीय किसानले ३ हजार बोरा आलु भण्डारण गरिसकेका छन्। थप तीन हजार बोरा आलु भण्डार गर्ने क्षमता रहेको नगरपालिकाले जनाएको छ ।
यो आधुनिक भवन सञ्चालनमा आएपछि चौताराका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले किसानको सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए। यसबाट किसानको उत्पादन संरक्षण हुने, बजार व्यवस्थापनमा सहजता आउने र अन्ततः किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास नगरप्रमुख सापकोटाले व्यक्त गरे।
यसपटक आलुले उचित बजार नपाएको पीडामा रहेका किसानका लागि यो शीत भण्डार वरदान सावित भएको छ। आलुको उचित मूल्य आउने समयसम्म सुरक्षित भण्डारण गर्न र आगामी सिजनका लागि बीउ जोगाउन सजिलो भएको छ। शीत भण्डार सञ्चालनको जिम्मा पाएको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाका अनुसार अहिले मुख्यगरी आलु भण्डारण भइरहेको र किसानले आफ्नो उत्पादन कुहिने डर बिना ढुक्क भएर राख्न थालेका छन्। उनले आगामी दिनमा अन्य तरकारी र फलफूल समेत राख्न सकिने व्यवस्था मिलाइने जानकारी दिए।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कृषिजन्य उत्पादनमा अग्रणी मानिन्छ। यो शीत भण्डारले चौताराका मात्र नभई छिमेकी बलेफी गाउँपालिका र जुगल गाउँपालिकाका किसानलाई समेत ठूलो राहत पुग्ने देखिएको छ। स्थानीय किसान मनरथ नेपालले पहिले आलु खनेपछि सस्तोमै बेच्नुपर्ने वा कुहिएर फाल्नुपर्ने बाध्यता रहेकोमा अब शीत भण्डार बनेपछि धेरै सजिलो भएको बताए। उनले अब ढुक्कले उत्पादन भण्डारण गरेर बजारमा मूल्य बढेपछि बेच्न सकिने भन्दै खुसी व्यक्त गरे। यस शीत भण्डारको क्षमता र प्रभावकारिता बढेसँगै समग्र जिल्लाकै कृषि अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
कान्तिपुर टेलिभिजन र सर्बपक्ष दैनिकको सहयोगमा !

