बालेनको उदय: नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा शाहले आज शपथ लिँदै

र्यापर तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ ले देशको सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍

……………………………………………………………………………………………………………………………………………………………………………………………

१३ चैत काठमाडौं । र्यापर तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ ले देशको सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज दिउँसो २ : ३४ बजे आयोजना हुने विशेष समारोहका बीच उनलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। यो क्षणलाई नेपालको युवा पुस्ताको क्रान्ति र दशकौँदेखिको परम्परागत राजनीतिक संयन्त्रमा आएको ठूलो परिवर्तनको प्रतीक मानिएको छ।

यस ऐतिहासिक मोडको आधार गत फागुन २१ गते सम्पन्न आम निर्वाचनले तय गरेको थियो । निर्सवाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ अर्थात १८२ सिटसहित अभूतपूर्व बहुमत हासिल गर्‍यो। बालेन शाह आफैँले झापा–५ जस्तो राजनीतिक गढमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका थिए। निर्वाचनपछि रास्वपाको संसदीय दलले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेसँगै आज उनी औपचारिक रूपमा मुलुकको कार्यकारी प्रमुख बन्न लागेका हुन् । यसले पुरानो शक्ति सन्तुलनलाई पूर्णतः विस्थापित गरिदिएको छ।

३५ वर्षीय शाहको राजनीतिक यात्रा एउटा रोचक र प्रेरणादायी सङ्घर्षको कथा हो। संरचनात्मक इन्जिनियरको पृष्ठभूमि बोकेका उनले सुरुमा आफ्ना र्‍याप गीतमार्फत भ्रष्टाचार, बेरोजगारी र पुरानो राजनीतिक व्यवस्थाविरुद्ध युवाहरूको आवाजलाई मुखरित गरेका थिए। सन् २०२२ मा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो लिएर काठमाडौँको मेयर निर्वाचित भएपछि उनले सडक सुधार, फोहोर व्यवस्थापन र सुशासनमा देखाएको तत्परताले नै उनलाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्‍यो। गत भदौ २३ र २४ मा भएकाे जेनजी आन्दोलनले पुरानो सरकारको जग हल्लाएपछि भएको यस निर्वाचनमा युवा मतदाताको व्यापक समर्थनले नै उनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍याएको विश्लेषण गरिएको छ।

आजको शपथ ग्रहण समारोहमा राज्यका उच्च पदस्थ अधिकारीहरू, विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रमुखहरूको बाक्लो उपस्थिति रहनेछ । बालेनले प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार नियन्त्रण, युवा स्वरोजगार, आर्थिक सुधार र शिक्षा–स्वास्थ्यको गुणस्तर वृद्धिलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताएका छन्। उनको पार्टीले निर्वाचनमा अघि सारेको ‘परिवर्तन अब’ भन्ने नारालाई सार्थक बनाउन आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत भइरहेको छ।

अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको यो युवा नेतृत्वको उदयलाई चासो र सकारात्मक रूपमा हेरेको छ। छिमेकी राष्ट्रहरू भारत र चीन लगायत अमेरिकाले नयाँ सरकारसँग सहकार्य गर्न तत्परता देखाएका छन्। यद्यपि, राष्ट्रिय स्तरको प्रशासनिक अनुभवको कमी र देशको जर्जर अर्थतन्त्रलाई गति दिनु बालेनका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ। विपक्षीहरूले उनको अनुभवमाथि प्रश्न उठाए पनि आम जनता र विशेषगरी युवा वर्गमा भने बालेनले नेपाल बनाउनेछन् भन्ने आशा पलाएको छ।

प्रतिक्रिया