

…………………………………………………………………………………………………………………………………………………………………………………….
१४ चैत, काठमाडौं । कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको बालेन नेतृत्वको नवनिर्मित सरकार गठन भएको २४ घण्टा नबित्दै आक्रामक एक्सनमा उत्रिएको छ। भ्रष्टाचार र बेथिति विरुद्ध शून्य सहनशीलताको नीति लिएको सरकारले आज बिहानै ठूलो कदम चालेको हो।
प्रहरीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको छ। कार्की आयोगको प्रतिवेदनले औंल्याएका कैफियत र अन्य भ्रष्टाचारका पुराना फाइलहरू पुन: अनुसन्धानका लागि उनीहरूलाई समातिएको स्रोतले जनाएको छ।
पक्राउ लगत्तै गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्दै विधिको शासन स्थापना गर्ने उद्घोष गरेका छन्। उनले लेखेका छन् “कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ पछि अब नेकपा एमालेका कार्यकर्ताहरूले के गर्लान् भन्ने आम चासो बढेको छ। पार्टी नेतृत्वमाथिको यो अप्रत्याशित ‘अट्याक’लाई लिएर देशभरीका एमाले कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।

