

काठमाडौं, २० चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले युवा नेता युवराज दुलाल ‘शरद’ लाई संघीय संसद्को प्रतिनिधिसभामा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै दुलाललाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेका हुन्।
संसद्को यो नयाँ कार्यकालमा नेकपाले आफ्नो संसदीय मोर्चालाई सशक्त बनाउन दुलाललाई प्रमुख सचेतक बनाएको हो। प्रमुख सचेतकको रूपमा उनले सदनमा पार्टीका सांसदहरूको परिचालन, विधेयकहरूमाथिको छलफलमा समन्वय र अन्य राजनीतिक दलहरूसँग संवादको मुख्य भूमिका निर्वाह गर्नेछन्। संसद् सचिवालयलाई पठाइएको पत्रमा, प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई दलको तर्फबाट प्रमुख सचेतकका रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध गरिएको छ। यो नियुक्तिले नेकपाले संसद्मा युवा र वैचारिक रूपमा स्पष्ट नेतृत्वलाई अघि सारेको सन्देश दिएको छ। हरेक दलका प्रमुख सचेतकले संसद सचिवालयबाट अतिरिक्त सुबिधा समेत प्राप्त गर्ने छन् ।
दुलालले यसअघि बागमती प्रदेशसभा सदस्यका रूपमा दुई कार्यकाल बिताइसकेका छन्। उनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री जस्ता प्रभावशाली पदमा रहेर काम गरिसकेका अनुभवी नेता हुन्। प्रदेशमा मन्त्री रहँदा उनले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा चालेका कदमहरूको सर्वत्र प्रशंसा भएको थियो। हालै सम्पन्न आम निर्वाचन २०८२ मा उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
सिन्धुपाल्चोकको सानुसिरुवारीमा जन्मिएका दुलालको राजनीतिक यात्रा निकै संघर्षपूर्ण रहेको छ। १० वर्षे जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) को जनमुक्ति सेनामा उनी ‘ब्रिगेड कमान्डर’ का रूपमा क्रियाशील थिए। सैन्य फाँटमा ‘शरद’ उपनामले चिनिने दुलालले धेरै ठूला फौजी कारबाहीहरूको नेतृत्व गरेका थिए। शान्ति प्रक्रियापछि उनी राजनीतिक मूलधारमा आएर सांगठनिक काममा होमिएका हुन्। बहुआयामिक व्यक्तित्व दुलाल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही समेत हुन्। सैन्य मोर्चा र हिमालको शिखरपछि अब उनले संघीय संसदको मोर्चा कमान्ड सम्हाल्ने अवसर पाएका छन्।

